पर्यटन क्षेत्रको उत्थानका लागि छुट्टै कार्यक्रम ल्याउँदैछौँः  मन्त्री भट्टराई

Advertisement

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि छुट्टै पुनरोत्थानका कार्यक्रम ल्याउने बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले सन् २०२१ लाई आन्तरिक पर्यटनमा केन्द्रित कार्यक्रम ल्याउने बताए ।
 
कोरोनाका कारण नेपालमा मात्रै नभएर विश्वभरको पर्यटन व्यवसायमा प्रभाव परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, “अहिले नेपालको मात्र नभएर विश्वभरि नै कोरोनाका कारण पर्यटन क्षेत्रमा असर गरेको छ, यसलाई उकास्नका लागि सरकारले आन्तरिक तथा बाह्य उडान खोल्न शुरु गरेको छ ।”
 
अहिले ४० प्रतिशत आन्तरिक उडान शुरु भइसकेको उनको भनाइ थियो । सन् २०२१ मा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि काम भइरहेको उनले जानकारी दिए । “यस क्षेत्रको विकासका लागि सरकारले प्याकेज घोषणा गरेको छ”, उनले भने । प्याकेजका लागि राष्ट्र बैंकले मापदण्ड बनाउने काम गरिरहेको उल्लेख गर्दै उनले भने, “राष्ट्र बैंकले बनाएको मापदण्डअनुसार पर्यटन व्यवसायीले पुनर्कर्जा लिन सक्नेछन् ।”
 
फरक प्रसङ्गमा बोल्दै उनले पार्टी विभाजन नहुने बताए । उनले भने, “काङ्ग्रेस र नेकपासहितका दलसमेत मिलेर जानुपर्ने समयमा पार्टी विभाजन हुनु हुँदैन ।” पार्टीभित्र सबैको सम्मानजनक सहभागिताबाट पार्टी विभाजन रोकिने उल्लेख गर्दै उनले आफूहरुले पार्टीलाई मिलाएर लैजानका लागि नेतृत्वलाई आग्रह गरिरहेको बताए।
रासस

Advertisement

Advertisement

Advertisement