काठमाडौंमा मानिसहरु थपिएसँगै कालिमाटीमा तरकारीको आपूर्ति बढाइयो

Advertisement

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारी आपूर्ति बढ्न थालेको छ । बन्दाबन्दी शुरू भएदेखि नै घटेको तरकारीको आपूर्ति बन्दाबन्दी खुलेको लामो समय बितिसक्दा समेत पनि बढ्न सकेको थिएन । तर विगत एक सातादेखि आपूर्ति प्रणालीमा विस्तारै सुधार आउन थालेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बन्दाबन्दी शुरू भएपछि कालीमाटीमा दैनिक ३०० देखि ४०० टन मात्र तरकारी भित्रिने गरेको थियो । गत सोमवारदेखि आपूर्तिमा सुधार भएको छ ।

Advertisement

समितिका अनुसार गत मङ्सिर ८ गते ६००, ९ गते ६५९, १० गते ६००, ११ गते ६००, १२ गते ५००, १३ गते ६३३ टन तरकारी तथा फलफूल भित्रिएको छ । सामान्य अवस्थामा कालीमाटीमा दैनिक ७–८ सय टनसम्म तरकारी र फलफूल भित्रिने गरेको समितिको तथ्यांक छ । गत कात्तिक ८ गते कालीमाटीमा जम्मा २ सय ९६ टन तरकारी भित्रिएको थियो ।

विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले तिहारपछि तरकारी तथा फलफूलको आपूर्तिमा सुधार हुँदै गएको बताए । उनका अनुसार तिहारपछि कालीमाटीमा काउली, गोलभेँडा, आलु लगायत तरकारी भित्रिने क्रम बढेको छ ।

बन्दाबन्दीको समयमा काठमाडौं छाडेर बाहिर गएका मानिस तिहार र छठ सकिएलगत्तै काठमाडौं प्रवेश गर्ने दर बढेकाले आफूहरूले पनि तरकारीको आपूर्ति बढाएको व्यवसायीले बताएका छन् । 

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement