महासंघमा चण्डी युगको अन्त्यः पशुपति मुरारका बने विशिष्ट सदस्य

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा चण्डी राज ढकाल युगको अन्त्य भएको छ । विगत चार कार्यकालदेखि विशिष्ट सदस्य बन्दै आएका ढकाललाई विस्थापित गर्दै पूर्व अध्यक्ष पशुपति मुरारका विशिष्ट सदस्य बनेका हुन् । 

नव निर्वाचित कार्यसमितिको मंसिर १४ गते बसेको कार्यसमिति बैठकले मुरारकालाई विशिष्ट सदस्य मनोनयन गरेको हो । विशिष्ट सदस्यका रुपमा महासंघभित्र अनावश्यक हस्तक्षेप गरेको आरोप ढकालले खेप्दै आएका थिए । अहिलेका अध्यक्ष शेखर गोल्छालाई वरिष्ठ अध्यक्षबाट स्वतः अध्यक्ष बन्न नदिने उदेश्यले ढकालको नेतृत्वमा विधान संसोधनको प्रयास भएको थियो । तर मुरारकासहितको प्रयासमा त्यस्तो प्रयास असफल भएको थियो । 

चार कार्यकालसम्म विशिष्ट सदस्यका रुपमा महासंघभित्र रजगज चलाएका ढकालले नै सहयोग गरेका चन्द्र ढकालले वरिष्ठ उपाध्यक्ष जितेका छन् । तर कार्य समितिमा गोल्छाको स्पष्ट बहुमत रहेको छ । यसपालीको निर्वाचनलाई नै चण्डी ढकाल र पशुपति मुरारका तथा शेखर गोल्छाबीचको इगोको लडाई मानिएको थियो । महासंघको बैठकले वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानलाई कार्य समिति सदस्य मनोनयन गरेको छ । 
 

Advertisement

Advertisement

Advertisement