शेयर बजार बढिरहँदा लगानीकर्ताहरुलाई नेप्सेको सुझाव-‘यी कुरामा ध्यान दिनुहोस्’

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले आधारभूत तथा प्राविधिक विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिएको छ । शेयर बजार केही दिन यता निरन्तर बढिरहेको र नेप्से तथा कारोबार रकमले एकपछि अर्को कीर्तिमान कायम गरिरहँदा यस्तो प्रतिक्रिया जनाएको छ । 

पछिल्लो समय लगानीकर्ताहरुले दोश्रो बजार कारोबारमा उत्साहजनक सहभागिता जनाउँदै आएका छन् । दोश्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले शेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन र विश्लेषण गर्न नेप्सेले विज्ञप्ति मार्फत सुझाएको हो । ‘यस किसिमको आधारभूत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्नेछ’–विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

‘दोश्रो बजारमा सहभागी हुँदा लगानीकर्ताले शेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गर्नु पर्छ । खासगरी आफूले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन र व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा बृद्धिको संभावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभूत पक्षको विश्लेषण गर्ने तथा वितगमा उक्त कम्पनीको दोश्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नु पर्ने हुन्छ ।’-नेप्सेको सुझाव छ । 

शेयर बजारमा हिजो नै नेप्से परिसूचक १९६८.२७ अंकमा पुगेको र कारोबार रकम समेत ९ अर्ब २२ करोड नाघेर नयाँ कीर्तिमान स्थापित भएको छ । बजार आज पनि बढिरहेको छ । शेयर बजार खुलिरहँदा आज नेप्से परिसूचक २०२८.४५ अंकमा पुगेर ओलिएको थियो भने दिउँसो पौने २ बजेसम्मको अवस्थामा पनि २००० अंक नाघेको थियो भने कारोबार रकम सवा ६ अर्ब थियो । 

२०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आए पछि दोश्रो बजारमा प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हिजो प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ कीर्तिमान कायम भएको दिन हिजो ८० हजार २ सय ७१ कारोबारमा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार रुपियाँ बराबरका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच भएका थिए । यसैगरी हिजो समग्र शेयर बजार परिसूचक नेप्से १९६८.२७ अंकमा उक्लिएको थियो । 

हालसम्म अनलाइन मार्फत कारोबार गर्नका लागि १ लाख ८९ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् । हिजोको कारोबारमा ३५ हजार ३ सय १७ लगानीकर्ता सहभागी भएकोमा ८८.५५ प्रतिशत कारोबार अनलाइन मार्फत भएको नेप्सेले जनाएको छ । 

  


 

Advertisement

Advertisement