शेयर बजारमा आज पनि उत्साहः नेप्से उच्च बिन्दुमा, ८ अर्ब ८६ करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पनि उत्साह छाएको छ । बजार केही दिन देखि बढिरहेको छ । यसैक्रममा आज २८.७९ अंकले बजार बढेको हो । १.४६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९७.०५ अंकमा उक्लिएर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज बजार खुल्ने बित्तिकै २०२८.४५ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा उक्त अंकमा आएर रोकिएको हो । हिजो परिसूचक १९६८.२७ अंकमा पुगेर बिश्राम लिएको थियो । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १९८ कम्पनीका २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६ सय ८२ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजारमा उत्साह छाएको दिन पनि बैंकिङ समूह, विकास बैंक समूह, वित्त समूह र म्युचुअल फण्ड राताम्मे भएका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । आज सबैभन्दा बढी बीमा समूहमा लगानीकर्ता आकर्षित भएका छन् । जीवन बीमा समूह ८२३.३५ अंक र निर्जीवन बीमा समूह १९३.०४ अंकले बढेका छन् । त्यसैगरी हिजो लगानीकर्ताहरुको रोजाईमा परेको बैंक÷वित्त समूहमा आज भने पहिरो गएको छ । विकास बैंक समूह ४८.१४, बैंकिङ समूह ७.३८ अंक र वित्त समूह ५.४१ अंकले घटेका छन् ।

 

नेप्सेका अनुसार आज सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीहरुले १० प्रतिशत नाफा कमाएका छन् भने विशाल बजार कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । नेपाल लाइफको ३८ करोड ४८ लाख ८६ हजार ७ सय ७२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement