कर्जा लगानीमा लय समाउँदै बाणिज्य बैंकहरु, एक हप्तामै गयो १६ अर्ब कर्जा

Advertisement

काठमाडौं । कर्जा लगानीमा बाणिज्य बैंकहरुले विस्तारै लय समाउन थालेका छन् । अधिक तरलताको मारमा परेका बाणिज्य बैंकहरुले मंसिर दोश्रो हप्तामा भने कर्जा प्रवाहलाई विस्तारै बढाउन सफल भएका हुन् । 

पछिल्लो एक हप्तामा १९ अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेका बाणिज्य बैंकहरुले १६ अर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार मंसिर ५ देखि १२ गतेको अवधीमा बाणिज्य बैंकको निक्षेप १९ अर्बले वृद्धि भएको छ । सोही अवधीमा बाणिज्य बैंकले कर्जा पनि १६ अर्ब रुपैयाँले वृद्धि गरेका छन् । संघका अनुसार मंसिर ५ गते बाणिज्य बैंकहरुमा ३६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप थियो । तर मंसिर १२ गते पुग्दा तिनै २७ वटा बाणिज्य बैंकहरुको त्यस्तो निक्षेप ३६ खर्ब ७५ अर्ब भयो । 

त्यस्तै मंसिर ५ गतेसम्म बाणिज्य बैंकहरुले ३० खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर १२ गते आईपुग्दा त्यस्तो आँकडा पनि बढेर ३० खर्ब ६६ अर्ब पुगेको छ । एक महिनाको अवधीमा भने बाणिज्य बैंकहरुको निक्षेप ४२ अर्बले बढेको देखिन्छ । कात्तिक १४ गते ३६ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बाणिज्य बैंकहरुले मंसिर १२ गते आईपुग्दा ३६ खर्ब ७५ अर्ब पुर्याएका छन् । कर्जा लगानी तर्फ भने ४६ अर्बले वृद्धि गरेका छन् ।

कात्तिक १४ गते ३० खर्ब २० अर्ब कर्जा लगानी गरेका बाणिज्य बैंकहरुले मंसिर १२ गते आईपुग्दा त्यस्तो कर्जा लगानीलाई ३० खर्ब ६६ अर्ब पुर्याउन सफल भएका हुन् । पछिल्लो समय अधिक तरलताको मारमा रहेका बैंक तथा वित्तिय संस्थाहरुले अब कर्जा लगानीलाई विस्तार बढाउँदै जानुले अर्थतन्त्र लयमा फर्कँदै गरेको देखाउँछ । 
 

Advertisement

Advertisement

Advertisement