निर्यात व्यवसायीहरुले गरे महासंघको नयाँ नेतृत्वलाई स्वागत

Advertisement

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई मंगलबार स्वागत तथा सम्मान गरेको छ । शेखर गोल्छाको नेतृत्वमा निर्वाचित भएर आएका नयाँ पदाधिकारीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले निर्याललाई आफ्नो नेतृत्वले प्राथमिकतामा राख्ने बताए । 

गोल्छाले भने, ‘अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात व्यवसायलाई विकास गर्नेगरि महासंघले आफ्नो भिजन निर्माण गर्न लागेको छ ।’ उनले निर्यातमा भएका समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए । जसमा व्यवसायको लागत, निर्यात प्रोत्साहन, नीतिगत सुधार र व्यवस्थामा ध्यान दिने गोल्छाले बताए । 

Advertisement

महासंघका अध्यक्ष गोल्छाले आफ्नो नेतृत्वमा पक्ष विपक्ष नहुने र एकजुट भएर उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्ने भन्दै अर्थतन्त्रको विकासमा भुमिका खेल्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निर्वाचनपछि महासंघमा पक्ष विपक्ष सकिएको र आफूले निजी क्षेत्रको र उद्योगी व्यवसायीको साख बढाउन कुनै कसुर बाँकी नराख्ने बताए । ‘मैले बैंकको बोनसबाट पाउने रकमभन्दा व्यवसाय धेरै ठूलो छ । त्यसैले बैंकको स्प्रेड दर कम गर्न मेरो पहल हुनेछ,’ उनले भने ।

वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले अहिले नीतिगत स्पष्टता नभएको भन्दै त्यसले लगानीमा नै असर पारेको बताए । उनले आफ्नो पहिलो प्राथमिकता नीतिगत स्पष्टता कायम गराउन सरकारसँग सहकार्य गर्ने र लगानीमैत्री वातावरण बनाउने बताए ।

जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले जिल्ला तहमा धेरै समस्या भएको भन्दै त्यसको समाधानको लागि काम गर्ने बताए । एसोशिएट्स तर्फका उपाध्यक्ष रामचन्द्र संघईले आफूपनि धागो निर्यात उद्यमी भएको भन्दै निर्यातको वृद्धिको लागि काम गर्ने बताए । 

फिनका अध्यक्ष रामबहादुर गुरुङले निर्यातलाई प्रबद्र्धन गर्न नयाँ नेतृत्वलाई आग्रह गर्दै व्यवसायीक हित अनुकुल नीति ल्याउन पहल गर्नुपर्ने बताए ।

Advertisement

Advertisement