प्रधानमन्त्री आठ महिनादेखि कार्यालयमा अनुपस्थित, महत्वपूर्ण कामकारवाही अलपत्र

Advertisement

काठमाडौं । कार्यसूचीअनुसार काम भइरहेको भए यतिवेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एकदमै व्यस्त हुनुपर्ने हो । आर्थिक वर्षको पहिलो चौमासिकपछि हरेक मन्त्रालयको समीक्षा गरेर चालू कार्यक्रमलाई गति दिने मंसिरमै हो । तर, यस्तो वेला प्रधानमन्त्री कार्यालय भने सुनसानजस्तै छ । प्रधानमन्त्री केपी ओली कार्यालय नै नआउँदा दीर्घकालीन महत्व राख्ने कामहरूसमेत प्रभावित भइरहेका छन् । 

प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय जान छाडेर बालुवाटारबाटै सरकार चलाउन थालेको करिब आठ महिना भइसकेको छ । गत २२ वैशाखमा असंलग्न राष्ट्रहरूको सम्मेलनलाई उनले कार्यालयको एक्सन रुमबाटै सम्बोधन गरेका थिए । त्यसपछि उनी कार्यालय आएको थाहा नभएको कर्मचारीहरू बताउँछन् । 

Advertisement

प्रधानमन्त्रीले निवासबाटै सरकार चलाउँदा राज्य संयन्त्र नै सुस्त बनेको सिंहदरबारका उच्चपदस्थ कर्मचारीहरू बताउँछन् । सम्पूर्ण मन्त्रालयहरूलाई नियमित रूपमा निगरानी र निर्देशन दिने प्रधानमन्त्री कार्यालय नै सुस्त भएपछि अन्य मन्त्रालयमा समेत त्यसको असर परेको छ । ‘कार्यकारी प्रमुख नै कार्यालय नगएपछि त्यसबाट प्रधानमन्त्री कार्यालय त सुस्त हुने नै भयो, त्यसको असर अरू मन्त्रालय र तल्लो तहसम्म पुगेको छ,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने ।

मन्त्रिपरिषद्का बैठकदेखि सामान्य प्रशासनिक निर्णयहरू पनि बालुवाटारबाटै हुने गरेका छन् । नियमित रूपमा ब्रिफिङ लिने र निर्देशन दिने प्रधानमन्त्रीको काम नै लामो समयदेखि अवरुद्धजस्तै छ । प्रधानमन्त्रीले समय नदिँदा यो वर्ष मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतासमेत हुन सकेन । सातै प्रदेशका मुख्यमन्त्रीहरू रहेको अन्तरप्रदेश समन्वय परिषद्को बैठकसमेत बस्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न बनाइएको एक्सन रुममा प्रायः ताला झुन्ड्याइएको हुन्छ । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement