सरकार निजी क्षेत्रलाई ‘इम्पोज’ गरेर अघि बढ्दैनः अर्थमन्त्री

Advertisement

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरु आएकाले आफूले अवरोधहरु पन्छाएर बजेट र मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको बताए ।  

Advertisement

निजी क्षेत्रबारे सरकारको दृष्टिकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए । ‘रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्ववपूर्ण भूमिका छ भन्ने सरकारले महशुस गरेको छ ।त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर  र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन’– उनले भने ।  

कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए । उनले भने– ‘निरन्तर संवाद र छलफलमा रहिरहन्छौं । सुझाव सुन्छौं । मिलेर काम गर्छौ ।’ 

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह गरे ।  

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिएका थिए । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्य अघि बढाउने बताए ।      


 

Advertisement

Advertisement