नक्कली भ्याट बिल प्रयोग गरी ४१ करोड राजश्व छली गर्ने फर्म तथा व्यक्तिहरुविरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) विजक प्रयोग  गरी राजश्व चुहावट गर्ने पाँच वटा फर्मका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुबाट ४१ करोड तीन लाख रुपियाँ विगो अशुलउपर गरी जरिवाना र कैद सजायको समेत मागदावी गर्दै मुद्दा दायर गरेको हो ।  

झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजश्व छली गर्ने उदयपुरको त्रियुगा–१२ स्थित राउत ट्रेड कन्सर्नका प्रोपाइटर कमल राउतसमेत दुई जनाबाट चार करोड १६ लाख रुपियाँ विगो अशुल गरी जरिवाना र कैद माग दावीसहित मुद्दा दायर गरिएको छ । 

Advertisement

त्यस्तै, झुट्टा तथा नक्कली भ्याट बिजक प्रयोग गरी राजश्व छली गर्ने दोलखा तामाकोशीस्थित पीआरके ट्रेड इन्टरनेशनलका प्रोपाइटर लहुमन माझीबाट पाँच करोड ५६ लाख विगो अशुल गरी जरिवाना र कैद दावी गरी मुद्दा दायर गरिएको छ । 

त्यसरी झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजश्व छली गर्नेमा बारा परवानीपुरस्थित मिनजा इन्टरनेशनल प्रालीका सञ्चालक पनि छन् । उक्त कम्पनीका सञ्चालक रामबाबु साहानीबाट दुई करोड १९ लाख रुपियाँ विगो अशुल गरी जरिवाना र कैद माग गर्दै मुद्दा दायर गरिएको छ ।

सोही कसुरमा पर्सा बेलवा–३ स्थित क्रेटा इन्टरनेशनलका प्रोपाइटर नबिकरिम अन्सारीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । उनीबाट आठ करोड २४ लाख रुपियाँ विगो अशुल गरी जरिवाना र कैद माग गरिएको छ । त्यस्तै, धनुषा रघुनाथपुर–४ स्थित रमण कन्ष्ट्रक्शन प्रालीले २० करोड ८७ लाख रुपियाँ विगो अशुल गरी जरिवाना र कैद माग दावीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

Advertisement

Advertisement