शेयर बजारको उकालो यात्रामा लाग्यो ब्रेक, नेप्से १५.५७ अंकले घट्यो, ८ अर्ब २ करोडको कारोबार

Advertisement

काठमाडौँ । दुई सातादेखिको शेयर बजारको उकालो यात्रामा आज भने ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १५.५७ अंकले घटेको हो । ०.७५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५५.४५ अंकमा ओर्लिएको छ । 

आज बजार खुलेको ९ मिनेटमै नेप्से परिसूचक २११८.४१ अंकमा उक्लिए पनि १ बजेर ४१ मिनेट जाँदा २०४१ अंकसम्म झरे पनि बजार बन्द हुने समयमा आइपुग्दा पुनः २०५५.४५ अंकमा पुगेर यो साताका लागि बिश्राम लिएको हो । नेप्सेका अनुसार आज २ सय कम्पनीका १ करोड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७ सय ९८ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

बजार ओरालो लागेको दिन आज लघुवित्त समूह र जलविद्युत समूहमा भने हरियाली छाएको छ । लघुवित्त समूह ३०.०८ अंक र जलविद्युत समूह १०.३६ अंकले बढेका छन् भने बाँकी अरु सबै समूह राताम्मे भए । सबैभन्दा धेरै जीवन बीमा समूह २५८.२६ अंकले घटेको छ । 

आज एभरेस्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ९.९६ प्रतिशतले नाफा कमाएका छन् भने विशाल बजार कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ६.९७ प्रतिशतले घाटा व्यहोरेका छन् । नेप्सेका अनुसार आज पनि नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनी एउटैको १ अर्ब ११ करोड ४० लाख ८ हजार ५ सय ७७ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

केही दिनयता शेयर बजारमा उत्साह आउँदा मंसिर १७ गते बुधबार नेप्से परिसूचकले नयाँ उचाई कायम गर्दै २०७१.०२ अंक चुमेको थियो । साताको पहिलो दिन मंसिर १४ गते आइतबार एकैदिन ९ अर्ब २२ करोडको शेयर कारोबार भई नयाँ कीर्तिमान स्थापित भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement