हामी फरक ढंगले अघि बढ्दैछौं, आईपीओ जारी गरेपछि लाभांश पनि घोषणा गर्छौंः पौडेल

Advertisement

म नेपाल राष्ट्र बैंक जस्तो नियामनकारी निकायमा ३० वर्ष सेवा गरेर अवकासपछि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा सीईओ नियुक्ती लिएको हुँ । नियामक निकाय र व्यवसाय गर्ने कम्पनीमा काम गर्ने तरिका फरक हुन्छ । अहिले भूमिका र कामकै हिसाबले पनि फरक अनुभव गरिरहेको छु ।

बीमा बजारमा अहिले तीब्र प्रतिष्पर्धा छ । बजारमा १९ वटा जीवन बीमा कम्पनी छन् । नौ वटा पूराना थिए । १० वटा थपिए  । प्रभु लाइफ पनि नयाँ बीमा कम्पनी हो । बजार प्रतिष्पर्धी छ । आफ्नो बजार हिस्सा कसरी बढाउने ? अरु कम्पनीभन्दा नयाँ फिचरका प्रडक्टहरु कसरी ल्याउने ? भन्नेबारे सोच्नुपर्ने रहेछ । कम्पनीको व्यवसाय विस्तार र प्रतिस्पर्धी क्षमता बढाउनु अहिले मेरो जिम्मेवारी हो । 

Advertisement

फरक हुने प्रयास  
अहिले २२ प्रतिशत नागरिकमा बीमा पहुँच पुगेको तथ्यांक छ । त्यो आधारमा झण्डै ७८ प्रतिशत नागरिक बीमाको पहुँचभन्दा बाहिरै छन् । तिनलाई बीमाको दायरामा ल्याउनु हाम्रो दायित्व हो । ती नागरिकलाई बीमाको अर्थ र महत्व बुझाउनुपर्ने छ । साथै तिनका परिवारका लागि उपयुक्त हुने बीमा पोलिसी पनि ल्याउनुपर्नेछ । 

हरेक क्षेत्रमा माग र आपूर्तिको सन्दर्भ आउँछ । बीमाका हकमा माग पक्ष भनेको जनता हुन् । आपूर्ति पक्ष भनेका कम्पनीहरु हुन, जसले नागरिकको अपेक्षा अनुसारका प्रडक्ट तयार पारेर पठाउँछन् । 

कस्तो प्रडक्ट तयार पार्ने ? कति मूल्य तोक्ने ? कति वर्षका लागि बनाउने ? कुन वर्गलाई लक्षित गर्ने भन्ने कुरा कम्पनीहरुमा निर्भर गर्छ । हामी छिटो दावी भुक्तानी, नयाँ फिचरसहितका प्रडक्टहरु दिने प्रयास गरिरहेका छौं । त्यसकारण बजारमा अरु भन्दा फरक छौं । 

२२ प्रतिशतको गुणस्तर मापन 
नयाँ बीमा कम्पनीहरु थपिएपछि प्रतिस्पर्धा बढेको छ । कम्पनीहरुका शाखा सञ्जाल बढेका छन् । एजेन्टहरुको संख्या गाउँ गाउँमा पुगेको छ । यसले बीमाको आपूर्ति पक्षको नेटवर्क बढेको छ । त्यसकारण पनि बीमाको पहुँच केही वर्षभित्रै २२ प्रतिशत पुगेको हो । 

नयाँ कम्पनी थपिँदा, नयाँ प्रोडक्टरु आउँदा, गाउँ गाउँमा शाखा विस्तार हुँदा बीमाको पहुँच बढ्नु स्वभाविक नै हो । बीमा पहुँच गत वर्ष १८ प्रतिशत थियो । अहिले २२ प्रतिशत पुगेको छ । लघु बीमा थप्ने हो भने २६ प्रतिशत हुन्छ भनिएको छ । पहुँच विस्तारको रफ्तारलाई अझै बढाउनुपर्छ भन्नेमा सरकार, नियामक र हामी कम्पनीहरुबीच मतैक्यता छ । सँगै त्यसको गुणस्तरमा पनि ध्यान दिनुपर्छ । 

नयाँ पुरानाबीच प्रतिस्पर्धा 
१९ वटा जीवन बीमा कम्पनी छन् । ती मध्ये ९ वटा पुराना थिए र १० वटा थपिएका हुन् । नयाँ र पूरानाबीच सिधै प्रतिस्पर्धा त हुन्छ । तर तुलना गरिनु हुन्न । हामी १० वटा जीवन बीमा कम्पनीबीच तुलना गरिनुपर्छ । 

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी यतिबेला तेस्रो वर्षमा व्यवसाय गरिरहेको छ । २०७४ मंसिरमा हामीले सेवा थालेका थियौं । तीन वर्षको अवधिमा कम्पनी राइट ट्रयाकमा छ । अझै अलिकति व्यवसाय विस्तारको रफ्तार बढाउनुपर्ने चाँही देखेकै छौं । 

लगानीकर्ता र बीमितको विश्वास 
समग्र बीमा क्षेत्रको नियामक निकाय बीमा समिति हो । समितिले बीमा कम्पनीहरुका हरेक गतिबिधि र पोलिसीहरुका लागि नियम बनाइदिएको छ । हामी तिनै नियमहरुभित्र रहेर कारोबार गर्दै आईरहेका छौं । 

लगानी कहाँ, कसरी र कति गर्ने ? वित्तिय विवरण कसरी तयार पार्ने भन्ने स्पष्ट व्यवस्था छ । बीमा कम्पनीहरुले गरेको बचतको ९० प्रतिशत रकम पोलिसि होल्डरको कोषमा राख्नुपर्ने व्यवस्था छ । बाँकी १० प्रतिशत मात्रै सेयर होल्डरको कोषमा राख्ने हो । प्रभु लाइफले तीन वर्षको अवधिमा एक अर्ब रुपियाँभन्दा बढीको जीवन बीमा कोष बनाईसकेको छ । 

कम्पनीहरुले बीमितलाई आकर्षित गर्न आफ्ना क्षमता अनुसार बोनस दर पनि घोषणा गरेका हुन्छन् । त्यसका लागि बीमांकीय मूल्यांकन गरिनुपर्छ । त्यसपछि बीमा समितिले छुट्टै मूल्यांकन गरेर बोनस दर निर्धारण गरेको हुन्छ । बोनस दर प्रत्येक वर्ष पुनरावलोकन हुने गरेको छ । प्रभु लाइभको हकमा दुई वर्षको बोनस ३० देखि ७० रुपियाँसम्मको दर निर्धारण गरेका छौं । हाम्रो आम्दानी बढेको छ । अहिले बीमा समितिले भविष्यको बोनस दर पनि अहिले नै घोषणा गर्नुपर्ने भनेको छ । 

ब्याजदरको उपयोग र प्रभाव 
अहिले निक्षेपको ब्याजदर ३ प्रतिशतले घटेको छ । ३ खर्ब रुपियाँको निक्षेप बीमा कम्पनीहरुले बैंकमा राखेका छन् । त्यसको ब्याज ३ प्रतिशतले घट्दा नाफामा असर गरेको छ । ब्याजदर अब फेरि बढ्ला भन्ने अपेक्षा पनि छ । बैंक ब्याजदरकै कारण अहिले सेयर बजार बढेको हो । अहिलेको अधिक तरलता धेरै समय नटिक्ला भन्ने मलाई लाग्छ । 

यो अधिक तरलताले बीमा कम्पनीहरुलाई अवसर र चुनौति दुबै दिएको छ । एकातिर बजारमा भएको पैसाबाट नागरिकलाई बीमा गराउने वातावरण बनाउन सकिन्छ । त्यसरी हेर्दा बीमाको दायरा बढ्छ । कम्पनीहरुको व्यवासय पनि बढ्छ । तर, बैंकको ब्याजदर घट्ने भएकाले बीमा कम्पनीहरुको आम्दानी घट्छ । 

यद्यपी यसपाली हाम्रो ब्याज आम्दानी २६।२७ प्रतिशतले घट्ने अनुमान गरेका छौं । त्यसकारण यो जोखिम र अवसर दुबै देखिन्छ । केही प्रतिशत सेयर र डिबेञ्चरमा लगानी गर्न पाउने व्यवस्था पनि छ । सेयर बजारबाट केही आम्दानी गर्न सक्ने अवसर पनि छ । 

मर्जर आवश्यक पर्छ ?
नयाँ कम्पनीहरुले सेवा आरम्भ गर्ने वित्तिकै बजारमा मर्जरको हल्ला पनि चल्यो । नयाँ कम्पनीहरु बजारमा टिक्न सक्दैनन् भन्ने थियो । तर मलाई कहिल्यै त्यस्तो लागेन् । कारण, भर्खर फस्टाउँदै गरेको बीमा बजार, थोरै रहेको बीमा पहुँच र नागरिकको बढ्दो क्रय शक्ति नै हो । 

अर्को तर्फबाट हेर्ने हो भने नेपालमा कम्पनी खोल्न र बन्द गर्न मुस्किल छ । बल्ल बल्ल इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाए । अहिले बन्द गर्दा अझै धेरै समय लाइसेन्स खुल्ने सम्भावना देखिन्न । लाइसेन्स तत्काल नपाइने भएकाले पनि बीमा कम्पनीहरु सुरक्षित छन् । कम्पनी बन्द गरेर जान पनि सहज छैन् । त्यसकारण पनि अहिले बजारमा रहेका कम्पनीहरु सुरक्षित छन् । तत्काल मर्जर, एक्विजिशनमा जानुपर्ने बाध्यता छैन् । यीनले राम्रैसँग व्यवसाय वृद्धि गरेर आफनो उपस्थिति प्रमाणित गर्न सक्छन् । 

प्रतिफल कहिले र कति ?
प्रभु लाइफले आइपीओ जारी गर्ने अनुमति पाईसकेको छ । हामी ६० करोडको आइपीओ निष्काशन गर्दैछौं । सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । यही महिनाको अन्त्यमा वा पुसको पहिलो हप्ता आइपीओ आउँछ । 

सर्वसाधारणलाई सेयर जारी गरेपछि लाभांश वितरण गर्न पाइन्छ । हामी यही आर्थिक वर्षको अन्त्यसम्ममा लगानीकर्ताहरुलाई केही न केही लाभांश दिने तयारीमा छौं । हामीले २०७५।७६ सालको वित्तिय विवरण पास गरेर आइपीओ निष्काशन गर्न लागेका हौं । २०७६।७७ को वित्तिय विवरण लेखा परिक्षणको चरणमा छ । 
२०७७।७८ सालको वित्तिय विवरणको लेखा परिक्षणपछि लाभांश दिन सकिन्छ । 

अहिले कम्पनीको जगेडा कोषमा १२–१३ करोड रुपियाँ छ । यसपाली अरु ८–१० करोड थप्न सकिन्छ । दुई अर्बको पुँजीमा १० प्रतिशत लाभांश दिन पर्यो भने पनि २० करोड आवश्यक पर्छ । हामी कति सकिन्छ लाभांश चाँही पक्कै पनि दिन्छौं ।  

बीमाः लगानी की जोखिम हस्तान्तरण ?
बीमा जोखिम हस्तान्तरण र लगानी दुबै हो । तर केही पोलिसिहरुमा  जोखिम हस्तान्तरण मात्रै हुन्छ । जस्तोकी म्यादी जीवन बीमामा जोखिमको हस्तान्तरण मात्रै हुन्छ । तर अन्य प्रकृतिका पोलिसिहरुमा जोखिम हस्तान्तरणसँगै लगानी पनि हुन्छ ।
 
प्रडक्ट, संगठन र जनशक्ति
कम्पनीसँग एक दर्जन बढी बीमा प्रडक्ट छन् । अझै केही प्रडक्ट थप्ने योजना छ । केन्द्रिय कार्यालयसहित ९१ कार्यालय छन् । १२ हजार अभिकर्ता छन् । २६० जना कर्मचारी छन् । सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेका छौं । 

साधारण सभामा झमेला
कम्पनी ऐन, धितोपत्र ऐन र बीमा ऐनका फरक फरक व्यवस्थाले हामीलाई साधारण सभा गर्न झमेला भइरहेको छ । बीमा कम्पनीहरुले बीमांकीय मूल्यांकन नगरी वित्तिय विवरण पास गर्न पाउँदैनन् । नेपालमा एक्चुरी नभएकाले विदेश पठाउनुपर्छ । फेरि बीमा समितिले हेरेर आवश्यक करेक्सन गर्छ । कम्पनी ऐनले ६ महिनाभित्र साधारण सभा गर्नु भन्छ । त्यसकारण बीमा कम्पनीहरुलाई कम्पनी ऐनमा केही सहजता दिनुपर्छ । नियामक निकायले केही ध्यान दिए राम्रो हुने थियो । 

को हुँ म ?
म स्याङजामा जन्मिएको हुँ । सिरुवारीमा एसएलसीसम्म अध्ययन गरेँ । पोखराको पीएन (पृथ्वीनारायण) क्याम्पसबाट आइकम र बीकम पास गरेँ । पास हुने वित्तिकै राष्ट्र बैंकमा परिक्षा दिएँ । २०४५ सालमा पुसमा परिक्षा दिएर २०४६ जेठमा नजिता आयो र नाम निकाल्न सफल भएँ । अधिकृत तृतीयबाट सेवा प्रवेश गरेर अधिकृत विशिष्टबाट २०७६ मा अवकास पाएँ । अहिले ५४ वर्षको मात्रै भएँ । डेढ वर्षदेखि प्रभ्रु लाइफ सम्हाल्दै छु । म चुप लागेर बस्न नसक्ने मान्छे हुँ । केही न केही गर्नै पर्छ । त्यसकारण प्रभु लाइफको नेतृत्व सम्हालेको हुँ ।

एक पटक सिए बन्न चाहान्थे । राष्ट्र बैंकमा जागिर खाएँ । पीएचडी गर्न लखनउ युनिभर्सिटिमा नाम निकालेको थिएँ । तर २ वर्ष बिदा लिएर आउनुपर्छ भनेपछि छोडिदिएँ । म पढाईमा अब्बल थिएँ । शंकरदेव क्याम्पसबाट ७४ प्रतिशत अंक ल्याएर एमबीए उतिर्ण गरेँ । प्राइभेट परिक्षा दिएर अर्थशास्त्रमा फेरि मास्टर्स गरेँ । लण्डनबाट अर्को एमबीए पनि गरेको छु । 

नारायण प्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी

Advertisement

Advertisement