झापाको चारआलीदेखि सिलिगुडीसम्म पेट्रोलियम पाइपलाइन बनाइने
File Photo

Advertisement

चारआली, झापा । चालु आर्थिक वर्षको अन्त्यबाट नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु हुने भएको छ । भारत पश्चिम बंगालको सिलिगुडी–चारआली (झापा)सम्म निर्माण हुन लागेको करिब ५० किलोमिटर लामो पाइपलाइन निर्माणस्थलको अवस्थाबारे बिहीबार संसद्को उद्योग, श्रम तथा उपभोक्ता हित संरक्षण समितिको टोलीले स्थलगत अवलोकन गर्यो । यसअघि भारतीय टोलीले प्रारम्भिक रेखांकनको काम सकेको थियो ।

संसदीय समितिका संयोजक विमलप्रसाद श्रीवास्तव नेतृत्वको टोलीमा सांसद भीमसेनदास प्रधान, अमृता अग्रहरि, मायादेवी न्यौपानेलगायत थिए । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माणमा सबै राजनीतिक दलको सहमति र सहकार्य रहेको श्रीवास्तवले जनाए । पाइपलाइन विस्तारका लागि सर्भेको काम सकिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जनाए । ‘कन्सेप्ट पास भइसक्यो, कन्स्ट्रक्सन मोडालिटी तयार हुँदै छ,’ उनले भने ।

Advertisement

पाइपलाइनसँगै बोटलिङ प्लान्टसमेत बनाइने उनले बताए । यसका लागि परामर्शदाता चयन भइसकेको छ । उनका अनुसार करिब चार हजार मेट्रिक टन क्षमताको एलपीजी ग्यासको भण्डारसमेत निर्माण गरिनेछ । यो प्लान्टको एलपीजी ग्यासले प्रदेश १ लाई ५० दिनसम्म पुग्न सक्छ । चालु आर्थिक वर्षको अन्त्यबाट पाइपलाइन विस्तारको काम थालिने उनको भनाइ छ । अमलेखगन्ज मोडालिटीबाटै निर्माण हुने पाइपलाइन करिब १६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य आयल निगमको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement