प्रधानमन्त्रीले शिलान्यास गरेका आयोजनाहरुको प्रगति निराशाजनक

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २०७५ चैत ८ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटबल–नारायणगढ सडक विस्तार आयोजनाको निकै तामझामसहित शिलान्यास गरे। दुई लेनको सडकलाई चार लेन बनाउने उक्त आयोजनाको शिलान्यास गरिएको पनि २० महिना बितिसक्यो। तर भौतिक प्रगति भने २ प्रतिशतमै सीमित देखिन्छ। प्रधानमन्त्रीजस्तो शीर्ष नेताले शिलान्यास गरेर अपेक्षाकृत प्रगति नभएको यो एउटा मात्र आयोजना होइन, अरू आधा दर्जनजति आयोजनाको भौतिक प्रगति यस्तै निराशाजनक अवस्थामा छन्।

बुटबल–नारायणगढ सडक विस्तार आयोजनाको ठेक्का सम्झौता भएको दुई वर्ष बित्न लाग्दा पनि निर्माण कार्यले भने अहिलेसम्म कुनै गति लिन सकेको छैन। ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी आयोजना निर्देशनालय एडिबी र चिनियाँ ठेकेदार कम्पनीबीच २०७५ पुसमा करिब १७ अर्बको लागतमा १ सय १५ किलोमिटर सडक विस्तार गर्ने ठेक्का सम्झौता भएको थियो। तर समयमै साइट क्लियर गर्न नसक्दा आयोजनाको ठेक्का सम्झौताको लगभग दुई वर्ष बितिसक्दा समेत आयोजनाको भौतिक प्रगति २ प्रतिशतमै रोकिन पुगेको हो।

Advertisement

आयोजना निर्देशनालय (एडिबी)का निर्देशक दीपक श्रेष्ठले आयोजनाको भौतिक प्रगति २ प्रतिशत मात्रै भएको बताए। ‘ठेकेदार मोबिलाइजेसन भए पनि रूख कटानको विवाद, साइट क्लिरेन्स नहुनु, कोभिड–१९ लगायत विविध कारणले अपेक्षित ढंगले सडक निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने। निर्देशक श्रेष्ठले साइट क्लियर नहुँदै आयोजना निर्माण सुरु गरेकाले पनि अपेक्षित गतिमा उपलब्धि हात पार्न नसकेको बताए। ‘नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार कोभिड–१९ का कारण लामो समय फर्किन पाएनन्,’ उनले भने, ‘अहिले बिस्तारै चिनियाँ कामदार आउन थालेसँगै निर्माण कार्य सुरु भएको छ।’ अहिले नारायणगढदेखि बुटबल र बुटवलदेखि दाउन्ने जाने सडक लथालिंग अवस्थामा छन्। पहिला करिब एक घन्टामै पार हुने सो सडकखण्डमा अहिले चार घण्टासम्म लाग्ने गरेको छ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement