प्रचण्ड र ओली एकले अर्कोलाई कारवाही गर्ने तयारीमा, राष्ट्रपति मिलाउने अन्तिम प्रयास गर्दै

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद चर्किएसँगै अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड एकले अर्कोलाई कारवाही गर्ने अन्तिम तयारीमा पुगेका छन् । ओली र प्रचण्ड पक्ष दुवैलाई मिलाउन राष्ट्रपति विद्या भण्डारीदेखि दोस्रो तहका नेकपाका केही नेताले अन्तिम प्रयास गरिरहेका छन् । तर दुवै पक्ष टसमस भएका छैनन् । 

ओली र प्रचण्ड दुवैले बिहीबार राष्ट्रपतिलाई भेटेर एकले अर्कोलाई आरोप लगाउँदै आफूहरुले चाल्ने अन्तिम कदमका बारेमा संकेत गरेका थिए । घण्टौं लामो कुराकानी गरेकी राष्ट्रपति भण्डारीले दुवै पक्षलाई मिलाउन प्रयास गरे पनि मिल्न तयार नभई एकले अर्कोलाई कारवाही गर्नेसम्मको अन्तिम तयारीमा रहेको नेकपाका नेताहरुले बताएका छन्  । 

Advertisement

ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नत्याग्ने स्पष्ट पारेको बुझिएको छ । यता प्रचण्ड पक्ष कुनै पनि हालतमा कम्तिमा एक पद छोड्नुपर्ने अडानमा रहेको छ । पटक पटक सहमति गरेर पनि पालना नगरेकाले अब पार्टी बैठकबाट सबै कुराको टुंगो लगाइने बताएका छन् । ओलीले गम्भीर निर्णय गर्नुअघि नै उनलाई सचिवालय बैठकबाट कारवाहीको निर्णय गर्ने तयारीमा प्रचण्ड पक्ष रहेको छ । 

आक्रामकरुपमा प्रस्तुत भएका ओली र प्रचण्ड दुवैलाई सँगै राखेर सहमति गराउन खोजे पनि दुवै नेता सँगै भेट्न तयार नभएको दावी रिपोर्टर्स क्लबले गरेको छ । एकले अर्कोलाई खुइल्याउँदै आरोपप्रत्यारोपमा उत्रिएका  ओली र प्रचण्ड एकले अर्कोलाई कारवाही गर्ने र पार्टीलाई औपचारिकरुपमा विभाजन गर्ने तयारीमा पुगेका छन् । 

बुधबार तय भएको सचिवालय बैठकमा ओली अन्तिम समयमा नगएपछि प्रचण्ड समूहको मनोबल बढेर गएको हो । प्रूचण्ड पक्षले ओलीको स्वार्थअनुसार कुनै पनि गलत निर्णय नगर्न राष्ट्रपतिलाई सचेत गराइरहेको छ । प्रचण्ड समूहले दबाब दिएपछि राष्ट्रपति भण्डारीले दुवैलाई मिलाउने प्रयास गरे पनि अन्तिममा ओलीलाई साथ दिनुपर्ने बाध्यता भण्डारीमा देखिन्छ । 

नेपालको राजनीतिमा पछिल्ला दिनमा विदेशी शक्ति केन्द्रहरुको चासो बढेकाले  पनि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । नेकपाको फुट जोगाउन चीनले प्रयास गरे पनि संभावना घट्दै गएकाले नेपालको एक मात्रै विश्वास गर्न बाँकी शक्ति नेपाली सेनामा भर पर्न पुगेको छ । केही दिनअघि नेपाल भ्रमणमा रहेको चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्री र राष्ट्रपतिलाई औपचारिकताका लागि केही समय मात्रै दिएर घण्टौंसम्म कुराकानी गरेका थिए । त्यसअघि नेपाल आएका भारतीय स्थल सेनाप्रमुखले पनि नेपाली सेना प्रमुखसँग भेटेर फर्किएका थिए ।

आफूमाथि लगाइएका आरोपहरु फिर्ता लिएर प्रचण्डले माफी नमागेसम्म पार्टी बैठकहरुमा नजाने अडानमा ओली पुगेका छन् भने बैठकमा नआएको र पार्टी निर्णयअनुसार नचलेको कारण देखाउँदै ओलीलाई कारवाही गर्ने तयारीमा प्रचण्ड पुगेका छन् ।  

यता ओलीले आफू पहिलो अध्यक्ष भएको भन्दै पार्टी अनुशासनअनुसार नचलेको नाममा ओलीलाई कारवाही गर्ने संकेत देखिएको छ । सँगै प्रचण्डले ओलीलाई सरकारबाट फिर्ता बोलाउने र अध्यक्षबाट पनि हटाउने संकेत देखिएको छ । ओलीले प्रचण्डमाथि कारबाही गर्ने चेतावनी यसअघि नै दिइसकेका छन् । यसै मौकामा  प्रमुख प्रतिपक्षी दल काँग्रेस पनि सरकारविरुद्ध आक्रामकरुपमा प्रस्तुत हुने तयारीमा रहेको छ । यता दुर्घटना जोगाउने अन्तिम प्रयासका क्रममा मन्त्रीसमेत रहेको सचिवालय सदस्य इश्वर पोखरेल आज प्रचण्ड निवास खुमलटार पुगेका छन् । 

Advertisement

Advertisement