सवा करोडको लागतमा पहिलो केन्द्रीय सहकारी बजार सञ्चालन

Advertisement

काठमाडौँ । पहिलोपटक सरकारी र सहकारी साझेदारीमा काठमाडौँ महानगरपालिका–६ चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजारको शुरुआत भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)को सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडले करिब रु सवा करोडको लागतमा बजार सञ्चालनमा ल्याएको हो । 

सन् २०१८ फेबु्रअरीमा शुरु भएको सहकारी बजार विकास कार्यक्रम ९सिएमडीपी० ले चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट र धादिङ गरी छ जिल्लाका १८ स्थानीय तहमा काम शुरु गरेपछि आज राजधानीमा पहिलो बजार सञ्चालनमा ल्याएको हो ।

Advertisement

बजार उद्घाटन गर्नुहुँदै सहकारीमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरे पनि बजारको समस्या भोगिरहेका बेला बजार उचित मूल्य दिलाउन सहयोग गरिने बताइन् । सरकार र सहकारी हाम्रो साझेदारी भन्ने नाराका साथ यो कार्यक्रमलाई वाग्मती प्रदेशबाट अन्यमा पनि विस्तार गर्न लागिएको उनले जानकारी दिइन् । “बचत तथा ऋण परिचालन गर्ने सहकारी धेरै भएकाले एकीकरण गरिनुपर्छ, सहकारी कृषि, फलफूल, पशुपालनमा पनि लाग्नुपर्छ, सहकारीले यी क्षेत्रबाट गरेका उत्पादनको बजारीकरण गर्न यस्ता केन्द्र ठाउँठाउँमा खोलिनुपर्छ”, मन्त्री अर्यालले भनिन् ।  

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले किसानको बजारका बीच सहकारीले पुलको काम गरेपछि उपभोक्तासमेत लाभान्वित हुने भएकाले यो कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गर्ने योजना रहेको जानकारी दिए । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले २० केन्द्र सहकारी सङ्घमध्ये १३ कृषि क्षेत्रकै रहेकाले किसानका उत्पादनको उचित मूल्य दिनसमेत यस्ता प्रवद्र्धन हुनुपर्ने बताए । सहकारी बजार विकास कार्यक्रमका प्रमुख सुमनशेखर मानन्धरले पहिलो चरणमा छ जिल्लाको १८ पालिकाका १४ हजार ४०० घरधुरी किसान लाभान्वित हुने गरी कार्यक्रम शुरु गरिएको जानकारी दिए ।  

हाल छ जिल्लाका १८ पालिकाका ५० सहकारीले तरकारी सङ्कलन केन्द्र स्थापना गरेको पनि उनले बताए । आगामी दिनमा ललितपुरलगायत कार्यक्रम लागू भएका छवटै जिल्लामा सहकारी बजार स्थापना गर्ने तयारी भइरहेको छ । सङ्कलन गरिएका तरकारी ढुवानी गर्न गत आर्थिक वर्षमा कार्यक्रमले पालिकाका सहकारीलाई २८ सवारी साधानसमेत वितरण गरेको छ । चालु आर्थिक वर्षमा पनि २५ साधन वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम प्रमुख मानन्धरले बताए ।  

बजारमा थोक तथा खुद्रा दुवै व्यापार गरिने छ । सहकारीबाट सिधै बजारमा ल्याइने तरकारी र फलफूल बजारमा पाइने मूल्यभन्दा सस्तोमा ग्राहकले किन्न पाउने बजारका सञ्चालक हरिप्रसाद प्याकुरेलले बताए । एक महिना अघिदेखि खुद्रा बजार शुरु गरिएकामा केही दिनमा थोक बजार शुरु गर्न चार वटा सटरसमेत सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए । 

राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका अध्यक्ष केबी उप्रेतीले बैङ्कमा रु ६० अर्बको कारोबार रहेकाले कृषिमा काम गर्न चाहने सहकारीलाई पूँजीको अभाव नहुने बताए । सङ्घका केन्द्रीय अध्यक्ष विनोद पराजुलीले कृषिको तीनवटामात्र केन्द्रीय सङ्घ बनाउने एकीकरण अभियान शुरु गरी गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल सङ्घकाबीच एकीकरण गरी पहिलो साधारणसभा समेत आजै गरिएको जानकारी दिए । सङ्घका सहअध्यक्ष ध्रुवराज पाण्डेले सहकारीको ध्यान तरकारी, फलफूल जस्ता चीजमा देशलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । रासस

Advertisement

Advertisement