स्वतस्फुर्त राजसंस्था पक्षमा आन्दोलन उठेपछि थापा रुष्ट, आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबी

Advertisement

काठमाडौं । देशभर स्वतस्फुर्तरुपमा राजसंस्था र हिन्दुराज्यको माग गर्दै आन्दोलन उठेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा रुष्ट भएका छन् । उनले राजसंस्था पक्षधरहरुको नेतृत्व आफूले मात्रै गर्नसक्ने जिकिर गरेका छन् । 

पछिल्ला केही दिनदेखि विभिन्न नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था र व्यक्तिहरुको अगुवाईमा देशभर हजारौंले प्रदर्शन गर्दै आएका छन । काठमाडौंमा शनिबार ५० हजार मानिसलाई सडकमा उत्रार्ने योजनासहित वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा विरोध प्रदर्शनको तयारी भइरहेको बेला राप्रपा अध्यक्ष थापाले राजसंस्थाको पक्षमा भइरहेका विरोध प्रदर्शनको लगाम आफूले समातेको जिकिर गरे । 

Advertisement

राजसंस्था पुनस्थापनाको माग गर्दै अहिले प्रदर्शन गर्दै आएकाहरुले थापालाई गद्दार र अवसरवादीका रुपमा हेर्छन् । उनीहरुले थापाकै कारण मुलुकमा गणतन्त्र आएको र राजाले गद्दी छोड्नुपरेको आरोप लगाउँदै जनता राजसंस्थाको पक्षमा उभिएपछि कमल थापा पनि राजावादी बन्न पुगेको दावी गरेका छन् । 

थापाले शुक्रबार गृहजिल्ला मकवानपुरमा पार्टीको ब्यानरमा प्रदर्शन गर्न लगाउँदै अहिलेको आन्दोलनको लगाम आफूसँग रहेको दावी गरेका हुन् । उनले प्रदर्शनपछि सामाजिक सञ्जालमा भनेका छन्, ‘हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगार, धर्मपरिवर्तनको विरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ ।’ 

थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुने र राप्रपा बलियो भयो भने उद्देश्य पूरा हुने दावीसमेत गरेका छन् । 

Advertisement

Advertisement