युनिसेफले सन २०२१ मा ६ अर्ब ४० करोड डलर खर्च गर्ने

Advertisement

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ । युनिसेफले आफूले संचालन गरेको आपतकालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिका सहित कूल ३० करोड व्यक्तिलाई आपतकालीन सहयोग गर्न उक्त रकम आवश्यक पर्नेछ । यो रकमका लागि दातृ निकाय समक्ष अपिल गरिएको युनिसेफको प्रधान कार्यालयले जनाएको छ ।

युनिसेफले माग गरेको उक्त रकम चालु वर्षको भन्दा ३५ प्रतिशत बढी हो । युनिसेफद्वारा जारी वक्तव्यमा कोभिड–१९ महामारीका कारण अति जोखिममा परेका समूदाय खासगरी महिला र बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउन उक्त रकम जरुरी रहेको उल्लेख छ ।

Advertisement

युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोडले महाविनाशकारी कोभिड–१९ महामारीसँगै द्वन्द्व, जलवायु परिवर्तन, विपद र विस्थापनका कारण त्यसबाट बालबालिकामाथि पर्ने प्रभाव भयावह हुने बताएका छन् ।   उनले भने, “आज कोभिड–१९ का कारण बाल अधिकारमाथि चुनौतीहरु खडा भएका छन् । उनीहरु स्वास्थ्य र अन्य कल्याणका कार्यबाट विमुख हुनु पर्ने अवस्था छ ।”

यस अभूतपूर्व परिस्थितिमा अभूतपूर्व प्रतिक्रिया जरुरी हुने बताउँदै उनले यस घडीमा सबै दातृ निकायलाई बालबालिकाको समुन्नत भविष्यका लागि अझ बढी एकताबद्ध भएर हातेमालो गर्न आह्वान गरे ।

बालबालिकाका लागि अहिले नियमित खोप अभियान ६० भन्दा बढी मुलुकमा अबरुद्ध भएको छ । कोभिड–१९ का कारण विद्यालयहरु बन्द भएका कारण झण्डै २५ करोड भन्दा बढी बालबालिका शिक्षाको अवसरबाट बन्चित भइरहेका छन् । 

युनिसेफले आर्थिक अस्थिरताले अत्यावश्यकीय सेवामा असर परेको तथा धेरै परिवारलाई आफ्ना अति जरुरी कुराहरु पूरा गर्न कठिनाई भएको तथा लैंगिक हिंसाका घटना बढेको पनि जनाएको छ । साथै, यसै वर्ष नयाँ मानवीय संकट पनि उत्पन्न भएको युनिसेफको भनाई छ ।

अफ्रिकी मुलुक इथियोपियाको टिग्रे क्षेत्रमा उत्पन्न द्वन्द्वका कारण २८ लाखभन्दा बढी नागरिकलाई अत्यावश्यक सेवा आवश्यक भइसकेको छ । मोजाम्बिकको काबो डेलगाडो प्रान्तमा १ लाख ९१ हजार बालबालिका समेत ४ लाख २५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । यहाँ व्यक्ति हत्या, अपहरण, सैनिक सेवामा जबर्जस्ती भर्ना तथा बालसैन्यका रुपमा बालबालिकालाई प्रयोग गरिएको युनिसेफको भनाई छ ।

जलवायुसँग सम्बन्धित विपद विगत ३० वर्षमा तीन गुणा बढेको छ । यसबाट खाद्य सुरक्षामा चुनौती थपिएको, पानीको स्रोत घटेको तथा मानिसलाई अन्य पलायन हुन बाध्य पार्नुका साथै द्वन्द्व र सार्वजनिक स्वास्थ्यको जोखिम बढाएको छ । 

ठूल्ठुला आँधीले मध्य अमेरिकी मुलुकमा ठूलो क्षति पुगेको र त्यसबाट जोखिममा रहेका समुदायको संख्या बढाएको छ । यहाँ झण्डै २६ लाख बालबालिकालाई असर परेको छ । पूर्वी एसियाका फिलिपिन्स, भियतनाम र कम्बोडिया समेतका मुलुकका १ करोड ३४ लाख बालबालिका प्रभावित भएका छन् । रासस

Advertisement

Advertisement