प्रचण्ड–नेपाल समुहका  विद्यार्थी भेलाको निष्कर्षः ‘समस्याको जड ओली’

Advertisement

काठमाडौं । सत्तारुढ नेकपामा आन्तरिक किचलोका बीच काठमाडौंमा प्रचण्ड-नेपाल समुहले पहिलो कार्यकर्ता भेला गरेको छ । प्रचण्ड-नेपाल समुहले विद्यार्थी संगठनबाट भेला आरम्भ गरेको हो । शुक्रबार थापाथली क्याम्पसमा आयोजीत अनेरास्ववियूका उपत्यका स्तरिय अगुवा कार्यकर्र्ता भेलामा स्थायी कमिटी सदस्यद्धय अष्टलक्ष्मी शाक्य र पम्फा भुषालले सम्बोधन गरेका थिए । नेकपा केन्द्रिय सदस्यद्धय लेखनाथ न्यौपाने र राम कुमारी झाक्री, अनेरास्ववियूका सह संयोजक रञ्जित तामांग र नेता सुदेश पराजुलीले पनि भेलालाई सम्बोधन गरेका थिए । 

पूर्वमन्त्री तथा प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यले देश र पार्टीमा उत्पन्न समस्याको जड नै केपी ओली भएको बताइन् । ओलीले पार्टी र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने धारणा पनि राखिन् । उनले केपी ओलीले चाहाँदैमा नेकपा नफुट्ने पनि बताइन् । नेतृ शाक्यले नेकपाको एकतालाई कसैले पनि टुटाउन नसक्ने दावी पनि गरिन् । अर्की नेतृ पम्फा भुषालले पनि केपी ओलीकै कारण पार्टी र सरकारमा संकट उत्पन्न भएको बताइन् । उनले पहिलो नम्बरको अध्यक्ष भन्नेले जस अपजस पनि बोक्न तयार हुनुपर्ने बताइन् । सरकारले जनप्रिय काम गर्न नसकेको र पार्टी सञ्चालनमा पनि बिधि पद्धति अवलम्बन नगरेको भन्दै ओलीको आलोचना गरिन् । 

भेलालाई सम्बोधन गरेका केन्द्रिय सदस्य न्यौपाने र झाक्रीले पनि ओली नै समस्याको मुल जड भएको बताएका थिए । अनेरास्ववियूका सह संयोजक रञ्जित तामांग र नेता सुदेश पराजुलीले अनेरास्ववियू पार्टी एकता मजबुत बनाउने अभियानमा लागेको बताएका थिए । पार्टी विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड-नेपाल समुहले उपत्यकामा पहिलो भेला गरेको हो । यस अघि मंसिर १८ गते ओली समुहले मदन भण्डारी कलेजमा विद्यार्थीको गुट भेला गरेको थियो । 
 

Advertisement

Advertisement

Advertisement