कसरी हुँदैछ फाइभजी सेवा परीक्षणको तयारी ?

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने आधार तयारका लागि उपयुक्त फ्रिक्वेन्सी निर्धारण गर्न लागिएको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्री संयोजक रहने राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट ब्यान्ड र मूल्य तोकिएपछि फाइभजी विस्तारको काम अघि बढ्ने बताएका छन् । 

प्राधिकरणले सिफारिस गरेका आधारमा समितिले फाइफजीको उपयुक्त मूल्य र ब्यान्डको निर्णय गर्नेछ । नेपालमा प्रविधि तटस्थताको नीति आइसकेको अवस्थामा ७००, ८००, ९००, १८००, २३००, २६०० र ३५०० ब्यान्डमै फाइभजी परीक्षण गर्ने गरी काम अघि बढेको खनालले बताएका छन् । 

Advertisement

उनले यसको परीक्षणका लागि आफूहरुले सरकारसँग अनुमति माग्ने तयारी गरिरहेको बताएका छन् । जुन सेवा प्रदायकले फाइभजीको परीक्षण गर्छ, परीक्षण गरेको अवधिको ग्राहकसँग शुल्क नउठाउने र सरकारले पनि उक्त सेवा प्रदायकसँग शुल्क नलिनेगरी परीक्षण गर्न लागिएको छ । 

फोरजी कार्यान्वयनका लागि नै अर्बौं रुपियाँ लगानी भई यसको पूर्ण कार्यान्वयन नहुँदै फाइभजी कार्यान्वयन गर्ने तयारी गरिएको हो । अध्यष खनालले नयाँ प्रविधिलाई अबलम्बन गर्न नसकिए मुलुक पछि पर्ने भएकाले पनि समय र जनताको चाहनाअनुसार काम गर्नुपर्ने बताए । 

यद्यपि अहिले कार्यान्वयन भन्दा पनि परीक्षणको तयारी आफूहरुले गरिरहेको र धेरै मुलुकले यस प्रविधिलाई कार्यान्वयनमा ल्याइनसकेकाले नेपालले हतार गरिहाल्नुपर्ने अवस्था भने नरहेको उनको तर्क छ । परीक्षणका आधारमा कहिलेसम्ममा फाइभजी कार्यान्वयन गर्न सकिने ? कति लागत लाग्ने ? जस्ता कुराहरुको निक्र्यौल गर्न सकिने छ । 

यसलाई शहरबाट विस्तार गर्दै ग्रामीण क्षेत्रमा लैजाने प्राधिकरणको योजना रहेको छ । फाइभजी कार्यान्वयनमा आएपछि उपभोक्ताले सजिलोसँग डेटा प्रयोग गर्न सक्नेछन् । 
 

Advertisement

Advertisement