अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र बनाउने

Advertisement

काठमाडौं । नेपालको ठूलोमध्येको एक सिमेन्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी–२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । कम्पनीको करिव एक करोड रुपियाँ बराबरको लागतमा मैनहियामा बनाउन लागेको सो स्वास्थ्य केन्द्र भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सोमबार शिलान्यास गरे । 

निर्माणपछि उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैयाको अस्पताल सञ्चालन गर्नेछ । कम्पनीले आºनो ब्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेश अग्रवालले जानकारी दिए । 

Advertisement

उनले भने, ‘यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै यहाँका स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य छ । यस क्षेत्रमा स्वास्थ्य सेवाको अभाव खड्किएकाले त्यसलाई परिपूर्ती गर्नका लागि स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं ।’

अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण गरिने छ । सियारीका अध्यक्ष अयोध्या थारुले अर्घाखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणा नमुना भएको बताए । उनले भने, ‘यस स्वास्थ्य केन्द्रलाई ५ शैयाको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछौं ।’ 

सियारी गाउँपालिकामा सिमेन्ट उत्पादन केन्द्र रहेको यस कम्पनीले बिगतमा पनि यस गाउँपालिका तथा आसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्न तथा बाटोघाटो विविध किसिमका पूर्वाधारको विकासमा सघाउ पुर्याउँदै आइरहेको कम्पनीले जानकारी दिएको छ । 

यसै वर्षको बैशाख महिनामा पनि कम्पनीले प्रदेश ५ सरकारद्धारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपियाँ तथा सियारी गाउँपालिकाका लागि दुई लाख रुपियाँ बराबरको नगद सहयोग प्रदान गर्नुका साथसाथै कम्पनीको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालिका – तिनाउँ र मचागढीका बिपन्न घरपरिवारका लागि करिब २० लाख रुपियाँ बराबरको राहत सामग्री बितरण गरेको थियो । 

Advertisement

Advertisement