कोरोना कालमै ५ करोड लगानी थप, संकटको सारथी नेबिको

Advertisement

काठमाडौं । बिस्कुट पारखी नेपालीहरुका लागि चिरपरिचित ब्राण्ड हो नेबिको अर्थात नेशनल बिस्कुट एण्ड कन्फेक्सनरी । ५६ वर्षअघि स्थापित नेबिका भूकम्प, नाकाबन्दी जस्ता समयमा मात्रै होइन, कोरोना कालमा पनि नेपाली नागरिकहरुलाई संकटको सारथीका बनेको छ । कोरोनाको त्रास, सुनसान सडक, उद्योग व्यवसाय ठप्प भएका बेला पनि नेबिकाका उत्पादनहरु बजारमा यत्रतत्र सर्वत्र पाइन्थे । 

संकटमा नागरिकको सारथी मात्रै होइन नेबिकाले ५ करोड लगानीमा नयाँ युनिट थपेर साहस पनि देखाएको छ । कोरोना शुरु भए पछि नै कम्पनीका ३ वटा युनिट थपेर झण्डै एक दर्जन नयाँ उत्पादन बजारमा पठाईरहेको छ । चार सयलाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीले नेपालमा कुल बिस्कुट बजारको १२ प्रतिशत हिस्सा एक्लैले ओगटेको छ । समग्र बिस्कुट बजारमा तेस्रो र नेपाली उद्योगहरु तर्फ पहिलो बजार हिस्सा ओगटेको छ । कच्चा पदार्थको सहज आपूर्ति, निर्यात प्रोत्साहन र बिस्कुट आयात निरुत्साहनमा सरकारले भूमिका खेल्नुपर्ने नेबिकोका ब्राण्ड मेनेजर अरुण पौडेल बताउँछन् । 

Advertisement

कोरोना कालको अनुभव
चैत ११ देखि कोरोनाका कारण लकडाउन सुरु भएको थियो । लकडाउन सुरुदेखि बैशाख पहिलो सातासम्म उद्योग बन्द गरियो । बैशाख पहिलो साताबाट बल्ल उत्पादन सुरु भयो । करिब एक महिना स्टकका प्रडक्ट मात्रै बेचियो । हामीले सम्भावित लकडाउनलाई मध्यनजर गरेर केहि उत्पादन बढाएर स्टक राखेका थियौं । ढुवानीमा पनि समस्या थियो, तर खाद्यान्नका सवारी साधन भनेर केहि सहजता थपियो । लकडाउनको अवधीमा उत्पादन घटेकै थियो । ३-४ सय कर्मचारीलाई राखेर उत्पादन थाल्नु आफैंमा चुनौतीपूर्ण थियो नै । बैशाख पहिलो हप्तादेखि डेढ सय कर्मचारीलाई उद्योग भित्रै क्वारेन्टाइनमा राखेर उत्पादन थालियो । 

लकडाउनका समयमा विदेशबाट आयात हुने विस्कुटहरुको आयात प्रभावित भएको थियो । त्यसले स्वभाविक रुपमा हाम्रा उत्पादनहरुको माग बढ्यो । हामीले पर्याप्त उत्पादन त गर्न सकेनौँ, तर पनि क्षमता अनुसार उत्पादन बढाई रह्यौं । 

भूकम्प र नाका बन्दीका समयमा नेबिकोले नागरिकलाई राम्रो साथ दिएको थियो । अहिले पुनः लकडाउनका समयमा नेपाली नागरिकको दुःखको सारथी बन्न सफल भयौं भन्ने नै लाग्छ ।लकडाउनको बजारलाई हामीले ‘अवसरको व्यापार’(अपरच्युनीटी सेल्स) भनेका छौं । यो जटिल अवसर थियो, त्यसमा व्यवसाय बढ्यो । अर्काे वर्ष यसरी नै व्यवसाय बढ्छ भन्ने हुन्न । यो अवधीमा अरु व्यापार व्यवसाय घट्दा नेबिकोको व्यवसाय भने अघिल्ला वर्षहरुको भन्दा बढ्यो । यो हाम्रा लागि सुखद कुरा हो । असोजदेखि हाम्रा सबै प्लान्टहरु पूर्णरुपले सञ्चालनमा छन् ।

कोभिडकै बीचमा थपिए ३ युनिट
हामी अघिल्लो वर्षदेखि नै तीन वटा प्लान्ट थप्ने योजनामा थियौं । कोरोना कहर सुरु भयो तर हामी रोकिएनौं । यो बीचमा कुकिजको नयाँ युनिट थप्यौं । प्लाटिनम सिरिजको कुकिजका पाँच वटा उत्पादन छन् । बटर कुकिज, जिरा कुकिज, सुगर फ्रि कुकिज, चकलेज कुकिज लगायत हुन्  नयाँ उत्पादन । यी उत्पादन बजारमा गैसकेका छन् र अन्तराष्ट्रिय स्तरका यी प्रडक्टको प्रतिक्रिया पनि राम्रो आईरहेको छ । यसको क्षमता प्रतिदिन एक हजार कार्टुन छ । दोश्रो युनिटका रुपमा ब्रेक फास्ट सिरिजका उत्पादन थलिएको छ । चोकोज, कर्नफ्लेक्स र ओड गरि तीन उत्पादन छन् । मंसिरदेखि बजारमा पनि गैसकिएको छ । यो परिक्षणकै कालमा छ र यी उत्पादन डिपार्टमेन्टल स्टोरहरुमा उपलब्ध छन् । 

तेस्रो युनिटका रुपमा ललिपपको उत्पादन थालेका छौं । चार वटा भेराइटीमा पप स्टिक्स नामको ललिपप बजारमा पठाईसकेका छौं । त्यसमा लिचि, सुन्तला, क्यारेमल र कोकोनट फ्लेबरका छन् । कन्फेक्सनरी पहिले पनि थियो । अहिले ललिपप थपेका हौं । मासिक एकदेखि डेढ करोडको ललिपप बेच्ने योजना बनाएका छौं । तीन युनिटमा ५ करोडको लगानी थपिएको छ । कोरोना कालमै पाँच करोड लगानी थप्ने कुरा चानचुने होइन । 

रोजगारी सुरक्षित 
नेबिकोले अहिलेसम्म एक जना कर्मचारीलाई पनि जागिरबाट निकालेको छैन । भैरहवा र काठमाडौंको उद्योगमा ४ सय जनाले प्रत्यक्ष रोजगारी पाउनु भएको छ । 

क्षमता कति ? 
आज नेबिकोसँग बिस्कुट, कुकिज र सिरयल्समा प्रमुख तीन प्लान्ट छन् । ब्रेक फास्टको प्लान्ट भर्खर सुरु गरिएको हो । अरु स-साना युनिटहरु छन् । 

कति उत्पादन छन् बजारमा ?
बिस्कुटमा २५ थरी उत्पादन छन् । त्यसमा पनि ५७ वटा भेराइटी छन् । पाँच वटा भेराइटीका कुकिज र पाँच भेराइटीका कन्फेक्सनरी छन् । ब्रेक फास्टमा ३ सिरिज छन् । यसवर्ष ८ देखि १० वटा उत्पादन थपिन्छन् । 

के छन् गुणस्तरका प्रत्याभूति ?
नेबिकाको इतिहास ५६ वर्ष पुरा भयो । हाम्रा अधिकांश उत्पादनहरु नेपाल गुणस्तर चिन्ह प्राप्त छन् । आइएसओः ९००१ः२०१५ सर्टिफाइट कम्पनी पनि हौँ । ५६ वर्षदेखिको उद्योग हरेक वर्ष ग्रोथ गरिरहेको छ भन्नुको अर्थ गुणस्तर भएर नै होला । हाम्रा उपभोक्ताले गुणस्तरमा कुनै गुनासो गर्नु पर्दैन । 

प्रतिष्पर्धा कसरी ?
नेपालको बिस्कुट उद्योगमा नेबिको मार्केट लिडर नै हो । स्वदेशी उद्योगहरुसँग हाम्रो खासै ठूलो प्रतिष्पर्धा छैन । हामी अझै लिडर नै रहिरहन्छौं । यो घमण्ड होइन, उपभोक्ता प्रतिको विश्वास हो । तर आयातित वस्तुहरुसँग हामीलाई अलिअलि डर छ । आयातित उत्पादन प्रति उपभोक्ताको अलि बढी रुची देखिन्छ । नेपाली उत्पादन विदेशी भन्दा राम्रा छन् भनेर बुझाउन सकिएन की भन्ने पनि लाग्छ । 

मोडर्न ट्रेडमा आक्रामक बन्दै
यतिबेला ब्राण्ड इमेज र बजारमा आफ्नो दर्बिलो उपस्थितिका लागि मोडर्न ट्रेडमा जानै पर्छ । नेबिकोले त्यसका लागि छुट्टै संरचना नै बनाएर काम गरिरहेको छ । डिपार्टमेन्टल स्टोरहरुबाट बेचिने उत्पादनहरु अलि भिन्न प्रकृतिका हुन्छन् । त्यस्ता उत्पादनहरुको साइज पनि अलि ठूलो नै हुन्छ । आज नेपालका अधिकांश डिपार्टमेन्टलहरुमा नोबिकोका करिब ७५ वटा उत्पादन उपलब्ध छन् । खुद्रा पसल र डिपार्टमेन्टल स्टोरहरुका ग्राहक फरक हुने भएकाले हामी त्यता पनि ध्यान दिईरहेका छौं । 

ब्राण्डः नेबिको 
नेपालको कुना कन्दरादेखि ठूला डिपार्टमेन्टल स्टोरसम्म स्थापित ब्राण्डको नाम हो नेबिको । बिस्कुट उद्योगमा नेबिको पहिलो नाम हो । हामीले नेबिको र उत्पादन दुबैलाई बराबर हिस्सा दिएर ब्राण्ड बनाउने प्रयास गरिरहेका छौं ।

बजार हिस्सा कति ?
नेपालको बिस्कुट बजारको १२ प्रतिशत हिस्सा नेबिकोले ओगटेको छ । स्वदेशीतर्फ हामी पहिलो नम्बरमा छौं । तर आयातितहरुको बजार हिस्सा नै धेरै छ । आयातित ब्रिटानियाले २४.२५ प्रतिशत र पार्लेले करिब २० प्रतिशत बजार ओगटेको छ, तेस्रो नम्बरमा नेबिकोले १२ प्रतिशत जति हिस्सा ओगटेको छ । स्वदेशी अरु उद्योगहरुको २, ५, ६ प्रतिशत बजार हिस्सा छ । नेबिको समग्रमा तेस्रो र स्वदेशीहरुमध्ये पहिलो बजार हिस्सा ओगटेर बसेको छ । 

भावी योजना ?
एक दुई वर्षभित्रै केहि युनिट थप्छौं । उत्पादन पनि बढाउँछौं । नयाँ प्रविधि ल्याउँदैछौं र गुणस्तरमा पनि थप सुधार गर्छाै । ५६ वर्ष पुरानो प्रविधि बदल्दैछौं । कोरोना नआएको भए नयाँ प्रविधि जडान गरेर उत्पादन थालिसक्ने थियौं । पुरानो जर्मन प्रविधिको साटो नयाँ भारतीय प्रविधि भित्र्याउँदैछौं । त्यसमा केहि जर्मन प्रविधि पनि जोडिएको हुन्छ । 

कत्रो व्यापार ?
बिस्कुटको बजार मासिक एक अर्बको छ । त्यसमा १२ प्रतिशत नेबिकोको हो । त्यसरी हेर्दा बार्षिक एक अर्ब ४४ करोड आसपासको बिस्कुट बजार नेबिकोले ओटगिरहेको छ । हामी थोरै नाफामा काम गर्छाै ।

सरकारले यसो गरोस्
स्वदेशी उत्पादनहरु आत्मनिर्भर हुन सक्ने सम्भावना छ भने आयात निरुत्साहित गर्नुपर्छ । कच्चा पदार्थहरुको आयातमा पनि सहुलियत दिनुपर्छ । सकेसम्म स्वदेशी कच्चा पदार्थ उपलब्ध हुने अवस्था बनाउनुपर्छ, नसकिएमा कच्चा पदार्थ आयातमा सरकारले सहुलियत दिनुपर्छ । हाम्रा उत्पादनहरु विश्व बजारमा पठाउन सकिने अवस्था छ । त्यसलाई निर्यातका लागि पनि सरकारले सहजीकरण गरिदिनुपर्छ । नेबिकोका उत्पादन आज युरोप, अमेरिका पुगेका छन् तर सरकारले आवश्यक सहजीकरण गरिदियो भने थप राम्रो गर्न सकिन्छ । कर उठाउन सरकार जसरी दत्तचित्त भएर लाग्छ, त्यसरी  डुब्न लागेका उद्योग जोगाउन पनि ध्यान दिनुपर्छ । बैंक तथा वित्तिय संस्थाहरु धरासायी भयो भने राष्ट्र बैंकले टेकओभर गरेर सुधार गरिदिन्छ । तर उद्योग धारासायी भयो भने सरकारले हेर्दैन । अब राम्रा उद्योग धन्दा डुब्न लागे भने सरकारले टेक ओभर गरेर जोगाइदिने वातावरण पनि बनाउनुपर्छ ।

(अरुण पौडेल, नेबिकोका ब्राण्ड मेनेजर हुन) 
 

Advertisement

Advertisement