निजी क्षेत्र पनि बोल्यो– यस्तो बेलामा पनि झगडा गर्ने ? कसरी अर्थतन्त्र, उद्योगधन्दा फस्टाउँछ ?

Advertisement

काठमाडौं । कोभिड १९ का कारण मुलुकको अर्थतन्त्र र अन्य क्षेत्र प्रभावित बनेको बेला मुलुकमा राजनीतिक अस्थिरता जन्माउने काम गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिमूलक तीन संस्थाहरुले चिन्ता जनाएका छन् । 

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गरी मुलुकको राजनीति बिग्रिदै गएकोप्रति चिन्ता जनाएका हुन् । उनीहरुले संयमतापूर्वक निर्णय लिन दलहरूलाई सुझाव पनि दिएका छन् । 

Advertisement

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुने बताएको छ । 

निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि वारम्वार सुझाव दिँदै आएको महासंघ, परिसंघ र चेम्बरले विज्ञप्तिमा उल्लेख गरेका छन् । विश्वव्यापी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुनसक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित रहेको बताएका छन् । 

राजनीतिक स्थिरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्यौलता सृजना गर्नेमा निजी क्षेत्र सशंकित एवं चिन्तित भएको छ र भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्ने भन्दै उनीहरुले यस बिषम परिस्थितिमा सुझबुझ र संयमतापूर्वक निर्णय लिन र मुलुकलाई स्थिरतातर्फ लैजाने काम नगर्न दलहरुलाई सुझाव दिएका छन् । 

Advertisement

Advertisement