स्वदेशी किसान र साना उद्यमीहरु विस्थापित हुनेगरी कृषिमा विदेशी लगानी खुला

Advertisement

काठमाडौँ । सरकारले कृषि क्षेत्रमा पनि विदेशीले लगानी गर्न पाउने निर्णय गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मन्त्रिपरिषद्ले सर्त राखेर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेको हो ।

‘७५ प्रतिशत निर्यात गर्ने सर्त राखी कृषि क्षेत्रमा पनि विदेशी लगानी खुला गर्ने निर्णय भएको हो । यससम्बन्धी कार्यविधि जारी गर्दै छौं,’ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने ।

Advertisement

कृषिमा विदेशी लगानी खुला गर्ने निर्णयको विरोधमा किसान र निजी क्षेत्रका अधिकारीहरूले ‘लबिइङ’ गर्दै आएका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०४९ प्रतिस्थापनका क्रममा समेत निश्चित सर्त राखी कृषिमा पनि विदेशी लगानी खुला गर्न गृहकार्य भएको थियो । परम्परागत प्रणालीबाट कृषिकर्म गरिरहेका किसान र उद्यमीले भने विदेशी लगानीकर्ताले आफूहरूलाई विस्थापित गरिदिने चिन्ता व्यक्त गरेका छन् । विदेशी लगानीको साटो यहाँका किसान तथा उद्यमीलाई नै क्षमतावान् बनाउनुपर्ने धारणा उनीहरूको छ । यसमा किसान आबद्ध राजनीतिक दलका भ्रातृ संस्थाहरूले पनि साथ दिएका थिए । प्रमुख दलका शीर्ष नेताले समेत ‘कृषिमा विदेशी लगानी खुला गर्नु हुन्न’ भन्ने धारणा राखेपछि ऐनमै विदेशी लगानी निषेध गरिएको थियो ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement