लोडसेडिङ हटाएको जस लिन होडबाजी, नयाँ उर्जामन्त्री भन्छन्– मैले हटाएको हो लोडसेडिङ

Advertisement

अर्घाखाँची । नयाँ उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि लोडसेडिङ अन्त्यको जस आफूले पाउनुपर्ने दावी गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोडसेडिङ अन्त्य विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले नभई आफूले गरेको जिकिर गरे । 

रायमाझीले आफू यसअघि उर्जामन्त्री भएको बेला लोडसेडिङ अन्त्य गर्न विभिन्न योजना बनाउने र कामहरु अघि बढाएको बताउँदै त्यसको नजिता अहिले देखिएको बताए । उनले उर्जा क्षेत्रमा नेपालले ठूलो फड्को मारिसकेको भन्दै पहिले विद्युत नपुगेर लोडसेडिङ्ग गर्ने अवस्थाबाट अहिले कता हालौं भन्ने स्थितीमा पुगेको बताए । 

Advertisement

घिसिङलाई आफूले नै ल्याएको रायमाझीको तर्क छ । उनले भने, ‘कुलमानजीलाई मैले ल्याएर ठिक्क पारेको हुँ, उनले भने, ‘मैले सही गर्न पाइन, जनार्दनजीले कागजमा सही मात्र गर्नुभएको हो।’ उनले लोडसेडिङ अन्त्यको जस पनि आफूलाई नै स्वतः जाने बताए । 

मन्त्री रायमाझीले थुप्रै जलविद्युत आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको भन्दै ट्रान्समिटर लाईन नहुँदा विद्युत खेर जाने अवस्थामा रहेको बताए । प्रसारणलाइन निर्माणमा आफूले प्राथमिकता दिने पनि उनले बताए । 

यसअघि प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रको रुपमा चिनिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ हटाउने काम प्रधानमन्त्री केपी ओलीले गरेको भन्दै घिसिङलाई यसको जस दिन नमिल्ने तर्क गरेका थिए । 

पत्रकार सम्मेलनमा रायमाझीले उर्जासँग सम्बन्धित अमेरिकी परियोजना एमसिसी परिमार्जनसहित लागू हुनुपर्ने कुरा दोहोर्याउँदै मुलुकको हित विपरितका बुँदा हटाएर यसलाई लागू गर्दा मुलुकको हित हुने बताए । 

ताजा जनादेशमा जाने गरेको निर्णय अग्रगामी कदम रहेको उनले जिकिर गरे । रायमाझीले देशलाई अस्थिरताबाट जोगाउन प्रधानमन्त्री ओलीले यो कदम चालेको र यो निर्णय संविधान सम्वत रहेको बताउँदै निर्वाचनको विकल्प नरहेको बताए । 

प्रचण्ड–माधव समूहले पार्टीभित्र डढेलो लगाउने काम गरेको उनको आरोप छ । उनीहरुको अस्तीत्व समाप्त भईसकेको जिकिर गर्दै रायमाझीले ताजा जनादेशबाट आफूलाई अब्बल साबित गर्न चुनौति दिए । 

Advertisement

Advertisement