आईपीओ भर्ने ‘बोरे प्रवृत्ति’ रोक्न कस्सियो नियामक, सम्पति शुद्धीकरण लगाउने तयारी

Advertisement

काठमाडौं । विभिन्न कम्पनीहरुको आर्ईपीओ जारी हुने क्रम धमाधम चलिरहेको छ । तर, एकै जनाले दर्जनौंको नामबाट आर्ईपीओ भर्ने ‘बोरे प्रवृत्ति’ भने अझै रोकिएको छैन् । अनलाइन प्रविधिबाट सेयर आवेदन गर्न मिल्ने प्रणाली सुरु भएपछि ‘बोरे प्रवृत्ति’ नियन्त्रणमा आउने विश्वास गरिएको थियो । तर, अझै चोरीछिपि एकै व्यक्तिले दर्जनौको नाममा आईपीओ भर्ने गलत प्रवृत्ति नियन्त्रणमा आउन सकेको छैन् । 

अब, भने ‘बोरे प्रवृत्ति’ रोक्न नियायमकहरु कस्सिएका छन् । नेपाल धितोपत्र बोर्ड, सिडिएससी एण्ड क्लियरिङ हाउस, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)समेतको सहभागितामा यो प्रवृत्ति रोक्ने प्रक्रिया अघि बढाईको छ । ‘बोरे’हरुलाई कानुनी दायरामा ल्याउन उक्त कार्यमा संलग्नहरुको सुक्ष्म निगरानी आफूहरुले गरिरहेको उनीहरुले बताएका छन् । 

Advertisement

‘बोरे प्रवृत्ति’ नियन्त्रणका क्रममा ई–केवाईसी कार्यान्वयन गर्ने तयारी अघि बढेको छ । नेपाल धितोपत्र बोर्डले विनियमावली बनाएर सिडिएससीलाई पठाई सकेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । सिडिएससीका सीईओ पूर्णप्रसाद आचार्यले पनि बोर्डबाट आवश्यक निर्देशन प्राप्त भएको र ई–केवाईसी कार्यान्वयनका लागि आवश्यक पर्ने प्रविधि खरिद प्रक्रिया अघि बढाएको बताए । 

बोर्ड अध्यक्ष ढुंगाना र सिडिएससीका सीईओ आचार्य दुबैले ई–केवाईसी नै आईपीओको ‘बोरे प्रवृत्ति’ रोक्ने अचुक अस्त्र भएको बताए । साथै, उनले अर्काको नाममा दर्जनौं आईपीओ भर्न पल्किएकाहरुले पहिचानका लागि सुक्ष्म निगरानी पनि बढाइएको बताए ।  

के हो ‘बोरे प्रवृत्ति’ ?
एक जना व्यक्तिले धेरै जनाको कागजात लिएर बैंक खाता खोल्ने, डिम्याट लगायतका अन्य खाता खोलेर सेयर भर्ने र त्यसको लाभ आफैं लिनेहरुलाई सेयर बजारमा ‘बोरे’ भनिन्छ । पहिले पहिले लाइन लागेर आईपीओ भर्ने समयमा एक जना व्यक्तिले नै धेरै जनाको नाममा सेयर भर्थे । 

अहिले डिम्याट अनिवार्य गरिसकेपछि पनि त्यस्तो प्रवृत्ति रोकिएको छैन् । ‘डिम्याट आएपछि धेरै सुधार भएको छ तर पनि ‘बोरे प्रवृत्ति’ पूर्णरुपमा रोक्न सकिएको छैन्, अब ई–केवाइसी कार्यान्वयन गर्ने र त्यसले पनि नभए सम्पत्ति शुद्धीकरणको डण्डा चलाउने हो’, बोर्डका अध्यक्ष ढुँगानाले बताए । अरुका नाममा बैंक खाता खोल्ने, सेयर भर्ने, त्यसको पूर्ण लाभ आफैं लिनेहरुलाई सम्पति शुद्धीकरणको मुद्दा लगाउन सकिनेबारे बोर्डमा पटक पटक छलफल भइसकेको छ । 

अहिले पनि गाउँभरका मान्छेहरुको नागरिकता र फोटो ल्याएर बैंक खाता, डिम्याट, मेरो सेयर खोलेर आफैं हस्ताक्षर गर्ने, सेयर भरेर बेचबिचखन गर्नेहरुको ठूलो समूह सक्रिय छ । पछिल्लो पटक सार्वजनिक निष्काशन भएको प्रभु लाइफको आईपीओमा १० लाख ८२ हजार २ सय २९ वटा आवेदन परेको थियो । हाल डिम्याट खाता खोल्नेहरुको संख्या २३ लाख नाघेका छन् । एक जनाले दुई वटा डिम्याट खाता सञ्चालन गर्न पाउने व्यवस्था छ । 

ईकेवाइसी अचुक उपायः भीष्मराज ढुंगाना, अध्यक्ष, नेपाल धितोपत्र बोर्ड

‘बोरे प्रवृत्ति’ पहिलेदेखि नै चल्दै आईरहेको थियो । पहिले बोरामै कागजात लगेर सेयर भर्थे । अहिले डिजिटल गरेपछि बोरै त बोक्दैनन् । तर पनि एकै जनाले धेरै जनाको नामबाट सेयर भर्ने क्रम चाँही रोकिएको छैन् ।

यसलाई रोक्न कै लागि भनेर हामीले ई–केवाईसी अघि सारेका हौं । त्यो आएपछि एक जनाले धेरै जनाको नामबाट सेयर भर्न पाउँदैन् । त्यस्तो केवाईसी दुईजनाले प्रमाणित गर्नुपर्छ । विवरण भर्ने व्यक्तिले दिएको विवरणलाई मर्चेन्ट बैंकर, ब्रोकर वा सिडिएससीका प्रतिनिधिले  प्रमाणिकरण गर्नुपर्छ । यो सबै डिम्याट खातावालाहरुले भर्नुपर्छ । सम्बन्धित व्यक्ति आफैं उपस्थित भएर त्यस्तो केवाइसी भर्नुपर्छ । यो काम अघि बढाउन सिडिएससीलाई निर्देशन दिईसकिएको छ । ई–केवाईसी पुँजी बजारका लागि एउटै प्रयोग गर्ने भनिएको छ ।  त्यसले हार्मोनाइजेशन हुन्छ र ‘बोरे प्रवृत्ति’ पनि रोक्छ । 

हामीले विमियम बनाएर पठाईसकेका छौं । प्रणाली खरिद गरेर सिडिएससीले कार्यान्वयन गर्छ । अहिले ‘बोरे’हरुको संख्या कति छ भन्ने यकिन भएको छैन । तर, संख्या ठूलो छ भन्ने सुनिएको छ । डिजिटल केवाईसी भरेपछि कसैले पनि बोरे बनेर सेयर भर्न पाउँदैनन् । 

खरिद प्रक्रिया अघि बढाईसकेका छौंः पूर्णप्रसाद आचार्य, सीईओ, सिडिएससी
ई–केवाइसीको प्रणालीको प्रविधि खरिदको प्रक्रिया अघि बढाउँदैछौं । ई–केवाइसीका लागि नयाँ प्रविधिको विकास नै गर्नुपर्ने रहेछ । त्यसलाई अहिलेको प्रविधिमा जोडेर स्तरोन्नति गर्ने हो । ई–केवाईसी कार्यान्वयनमा आएपछि ‘बोरे प्रवृत्ति’को अन्त्य हुन्छ । अर्काको नाममा बैंक खाता खोलेर सेयर भर्नु अहिले पनि गैरकानुनी हो । किर्ते सही गरेर सेयर भर्ने कुरा अहिले पनि अपराध नै हो । एउटै मान्छेले दुई वटा डिम्याट खाता खोल्न पाउँछ । तर आईपीओ भने एउटाबाट मात्रै भर्न पाउँछ ।

गाउँभरका मान्छेहरुको नागरिकता जम्मा गरेर खाता खोल्ने र आफ्नै हस्ताक्षर चलाउने कुरा अपराध हो । यस्तो कामका विरुद्ध उजुरी पर्यो भने त्यस्तो मान्छे सरासर फस्छन् । अर्काको कागजात प्रयोग गरेर खाता खोल्ने र हस्ताक्षर चलाउने कुरा गम्भीर अपराध हो । 

त्यसलाई रोक्न ई–केवाईसी अघि सारिएको हो । बोरेहरुको संख्या कति छ भन्ने यकिन गर्न सकिएको छैन् । मेरो नाममा अर्कैले सेयर भरेछ भन्दै केही उजुरीहरु आउँछन् । तर, केही दिनपछि पुनः फिर्ता लिन्छन् । म आएपछि पनि केही उजुरी आएका थिए । तर, पछि फिर्ता लिएर गए । त्यसकारण हामी कानुनीरुपमा अघि जान सकेनौं । जे भएपनि बोरे प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ । 

Advertisement

Advertisement