ईश्वर पोखरेलका सम्धीको अवसर गुम्यो, राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा धनिराम चयन

Advertisement

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाको राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष हुने चाहना तत्कालका लागि गुमेको छ । उक्त बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । उनी अर्थमन्त्रालयका सहसचिव हुन् । अध्यक्ष बन्ने चाहना तुहिएसँगै कोइरालाले सञ्चालक पदबाट राजीनामा पनि दिएका छन् ।

बैंक सञ्चालक समितिबाट अध्यक्ष चयन भएका शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । यसअघि कोइरालालाई अध्यक्ष बनाउने तयारी गरिएको समाचार बाहिरिएसँगै चौतर्फी विरोधपछि अध्यक्ष चयन प्रक्रिया रोकिएको थियो । उनलाई बैंकको अध्यक्ष बनाउने योजनाअनुसार नै ईश्वर पोखरेललाई बैंकको सञ्चालकमा नियुक्त गर्न लगाएका थिए । 

Advertisement

अरु आधा दर्जन बढि संस्थान तथा निकायहरुमा अध्यक्ष तथा कार्यकारी प्रमुख भएर काम गर्ने क्रममा कोइराला पटक पटक विवादमा पर्दै आएका थिए । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन नगरी शर्मालाई चयन गरेको हो । 

शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ उपस्थित थिए। 

Advertisement

Advertisement