सार्वजनिक जग्गा हाउजिङको नाममा पास गर्न संलग्न १७ जनाविरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी–सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरेको भन्दै नापी तथा मालपोत कार्यालयका कर्मचारी र हाउजिङका सञ्चालकहरुसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

अख्तियारले ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलविरुद्ध मुद्दा दायर गरेको हो ।

Advertisement

यसैगरी, यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ललितपुर महानगरपालिका–२३ स्थित सिलौटेमा पर्ने कर्मनासा नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारीरसार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ् गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरुमाथि अनुसन्धान गर्दै आएको अख्तियारले आज मुद्दा दर्ता गरेको छ । 

Advertisement

Advertisement