मासिक ५ सय बुझाएर ‘नागरिक पेन्सन योजना’मा सहभागी हुन कोषको कार्यालय जानै नपर्ने

Advertisement

काठमाडौँ । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेशन सेवा शुरु गरेको छ । अनलाइन रजिष्ट्रेशन सेवाको शुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ । 

यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरुले सजिलै सहभागी हुन सक्ने छन् । यस योजनामा आय आर्जन गर्ने जो सुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एबम् प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । 

Advertisement

यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपियाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक/ त्रैमासिक/ अर्धवार्षिक/ वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । 

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ बर्ष पश्चात समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन् । कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । 

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । 

Advertisement

Advertisement