आइटी करियर कन्क्लेभः १० वर्षभित्र नेपालमा आइटीको विकास कस्तो होला ?

Advertisement

काठमाडौँ । ‘आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सियल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा पुस २५ र २६ गते आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेसनमा २५ भन्दा बढी वक्ताहरूको सहभागिता रहेको थियो ।

आइटीमा भविष्य खोज्नेहरूलाई लक्षित गरेर आयोजना गरिएको यो आइटी करियर कन्क्लेभमा वक्ताहरूले अबको भविष्य प्रविधिसँगै जोडिएको हुँदा सोही अनुकूल सरकार र सर्वसाधारण पनि प्रविधमैत्री वातावरणमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका थिए । अहिलेको इमर्जिङ प्रविधिहरूबारे छलफल गर्दै सुरु भएको कन्क्लेभ अबको १० वर्षभित्र नेपालमा आइटीको विकास कस्तो हुन सक्छ भन्ने विषयमा गएर टुंगिएको थियो ।

Advertisement

कार्यक्रमको अन्तिम सेसनमा बोल्दै पूर्वमन्त्री गणेश शाहले स्टार्टअप, इन्नोभेसन र उद्यमशीलतामा अबको भविष्य खोज्नुपर्ने बताए । यसैगरी आइटी विज्ञ मनोहर भट्टराईले सरकार पोलिसी निर्माणमा अघि रहे पनि कार्यान्वयन पक्ष फितलो हुँदा यो क्षेत्रमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए । उनले अझै पनि युवाका समस्याहरू नबुभ्mने र नेपाली इन्नोभेसनलाई सहजीकरण नगर्ने हो भने १० वर्षमा ठूलो परिवर्तन देख्न नसकिने बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले अबको १० वर्षमा ई–गभर्नेन्सको क्षेत्रमा बदलाव आउने बताए । 

प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले विगत केही वर्षदेखि सरकारले आइटीलाई प्राथमिकतामा राखेर काम गरिरहेको हुँदा परिवर्तन सम्भव रहेको बताए । नागरिक अधिकार एपले चाँडै मूर्तरूप लिने भन्दै उनले अब डिजिटल प्रविधिले अन्य क्षेत्रलाई ड्राइभ गर्नुपर्नेमा जोड दिए । मेडसफ्टकी सीईओ प्रनिता उपाध्यायको अनुसार अबका दश वर्षमा घरबाटै काम गर्ने रणनीतिले प्रोत्साहन पाउनेछ । त्यसैगरी भौतिक पूर्वाधार र साइबर सुरक्षामा पनि एकदमै बदलाव आउने उनले बताएकी थिइन् । कार्यक्रममा कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले आफ्नो अनुभवहरू बाँडेका थिए । नलेज स्पेसियलिस्ट हेमपाल श्रेष्ठले सञ्चालन गरेको उक्त सेसनमा डिजिटल नेपाल र यसका एजेन्डाको विषयमा पनि छलफल भएको थियो ।

यो महत्वपूर्ण सेसनसँगै कार्यक्रममा इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशीलता, इमर्जिङ टेक्नोलोजी र कनेक्टिङ ट्यालेन्ट्स टु दि वल्र्ड विषयमा पनि प्यानल डिस्कसन सञ्चालन भएको थियो । कार्यक्रममा धेरै सहभागीहरू भर्चुअल रूपमा पनि सहभागी भएका थिए र भौतिक रूपमा भने स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न सरोकारवाला तथा मिडियाको उपस्थिति रहेको थियो । 

पहिलो सेसन ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ मा योङ इन्नोभेसनका सिइओ विभूषण विष्ट, क्लाउड फ्याक्ट्रीकी वरिष्ठ सफ्टवेयर इन्जिनियर माधुरी श्रेष्ठ, नेपाल खुल्ला विश्वविद्यालयका कार्यक्रम संयोजक डा. भोजराज घिमिरे र फ्यूज क्लासरुमका निर्देशक पराग श्रेष्ठ सहभागी भएका थिए । त्यसैगरी इ सत्यका इन्चार्ज रुचिन सिंह मोडरेटरको भूमिकामा रहेका थिए । दोस्रो सेसन ‘इन्नोभेसन एण्ड टेक्नोलोजिकल आन्ट्रप्रेनरसीप’ विषयमा सञ्चालन भएको थियो । यो सेसनमा खल्तीका सहसंस्थापक मनीष मोदी, फुडमाण्डूका संस्थापक मनोहर अधिकारी र जीवीका प्रबन्ध निर्देशक आभुसन ज्योती कंसाकार सहभागी भएका थिए । 

त्यस्तै तेस्रो सेसनमा आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात् क्युएनए सेसन सञ्चालन भएको थियो । यस सेसनमा मेरो लगानीका सिईओ अतितलाल श्रेष्ठ र लिफ्रग टक्नोलोजीकी स्वेच्छा विष्ट सहभागी भएका थिए । कार्यक्रमको दोस्रो दिन ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा भर्चुअल सेसन सञ्चालन भएको थियो । यस सेसनमा किम्बु टेक्नोलोजीकी सीईओ कार्भिका थापा, सिम्प्लिफाई ३६० का सीईओ लक्ष्मी खतिवडा र जेनस सोलुसनका सीटीओ अञ्जनी फुँयाल, ग्रोवाईडेटाका सहसंस्थापक प्रशन्न ढुंगेल लगायतको सहभागिता थियो । 

अमेरिकन बिजनेश डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेस स्कुलले यसै वर्षदेखि आइटी अन्तर्गत बिएससी आइटी र एमएससी आइटीका शैक्षिक कार्यक्रमहरू सञ्चालनको तयारी गरेको छ । कलेजले पहिलोपटक आइटी करियर कन्क्लेभ सफलतापुर्वक सम्पन्न गरेको कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए । आगामी दिनमा आइटीको भविष्य सुमधुर रहेको बताउँदै केसीले यसको लागि योग्य र दक्ष विद्यार्थी उत्पादनमा जोड दिने र आइटी उद्योगसँग सहकार्य गर्दै अघि बढ्ने बताए । 
 

Advertisement

Advertisement