भौतिक पूर्वाधारमा लगानी गर्न दक्षिण कोरियाका राजदूतसँग परिसंघको आग्रह

Advertisement

काठमाडौँ । दक्षिण कोरियाले नेपालको पर्यटन, जलविद्युत् तथा पूर्वाधारमा क्षेत्रमा लगानीका लागि सहजीकरण गर्ने भएको छ । 

नेपाल उद्योग परिसङ्घमा पदाधिकारीसँग आज अन्तरक्रिया गर्नुहुँदै नेपालका लागि दक्षिण कोरियाका राजदूत छङ सक पार्कले नेपालमा थप लगानीका लागि कोरियाली लगानीकर्तालाई आफूले सहजीकरण गर्ने विश्वास दिलाए । दक्षिण कोरियामा आयोजना हुने व्यापार तथा लगानी मेलामा सहभागी हुने नेपाली व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गर्ने पनि राजदूत पार्कको भनाइ छ । 

Advertisement

परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशिक लगानीका लागि अवसर र उच्चतम प्रतिफल रहेको बताउँदै कोरियाली लगानीलाई प्रोत्साहन गर्न परिसङ्घ सहयोग गर्न तयार रहेको बताए । दक्षिण कोरिया र नेपालबीचको सौहार्दपूर्ण सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणका लागि थप कोरियाली पूँजी तथा प्रविधिलाई नेपाल भित्र्याउनेतर्फ थप सहयोगका लागि अध्यक्ष मोरले राजदूतसँग आग्रह पनि गरे ।  

परिसङ्घका उपाध्यक्ष अनुज अग्रवाल, निर्वाण चौधरी, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेले नेपालमा कोरियाली एक्जिम बैंकमार्फत पूँजी जुटाउन तथा पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि कोरियाली लगानीकर्तालाई सहजीकरण गर्न कोरियाली दूतावाससँग सहकार्य गर्न तयार रहेको बताए ।  

कोरियामा काम गरेर फर्केका नेपालीका कारण नेपालमा दक्ष कामदार जुटाउन सहज वातावरण पैदा भएकाले यसलाई उपयोग गर्न पनि परिसंघले आग्रह गरेको छ । 

Advertisement

Advertisement