'निफ्राको आइपीओ भर्नुस्, प्रतिफलको चिन्ता नगर्नुस्'

पूर्वाधार विकासमा पीपीपी मोडल कार्यान्वयन गर्न स्थापना गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ८ अर्बको आइपीओ माघ २ गतेबाट निष्काशन गर्दैछ ।  नेपालको सार्वजनिक निष्काशनमा सर्वाधिक ठूलो राशीको यो आइपीओमा आम नागरिककै चासो बढिरहेको देखिन्छ । यसै सन्दर्भमा बैंकको भावी योजना, लगानी, सम्भावित प्रतिफल लगायतका विषयमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेसँग गरिएको कर्पाेरेट वार्ता । 

२० अर्बको बैंकले ८ अर्बको आइपीओ निष्काशन गर्दैछ, सर्वाधिक ठूलो आइपीओले बैंकको ब्राण्डिङमा कति सहयोग गरिरहेको छ ?
नेपाल इन्फ्रास्ट्रक्चर बैंक भनेको नेपालमा नयाँ अवधारणा र योजनासहित स्थापना भएको हो । यसमा पीपीपी अर्थात पब्लिक, प्राइभेट पार्टनरशिपको अवधारणा छ । विश्वभर पूर्वाधारमा लगानी गर्ने बैंकहरु पीपीपी मोडलमै काम गरिरहेका छन् । निजी क्षेत्रले मात्रै ठूलो पुँजी जुटाउन नसक्ने र सरकारको काम गर्ने आफ्नै शैली हुन्छ । त्यसकारण सरकार र निजी क्षेत्रको पुँजी अनि निजी क्षेत्रको जस्तो व्यवस्थापन एंव निर्णय क्षमतालाई उपयोग गर्ने गरि यो संस्थाको स्थापना भएको हो । 

नेपाल सरकारले बजेटबाटै अघि सारेर १० प्रतिशत लगानी गरेको छ । पाँच वटा बाणिज्य बैंकहरु र १० वटा बीमा कम्पनीहरुको लगानी छ । त्यस बाहेक नेपाल पुनर्बीमा कम्पनी र केहि निजी क्षेत्रका दिग्गजहरुको लगानीलाई समेत समेटेर पीपीपी मोडलमा यसको स्थापना भएको हो । सेवा आरम्भ गरेको तीन वर्षभित्र सर्वसाधारण सेयर(आइपीओ) जारी गरिसक्नुपर्ने व्यवस्था थियो । २० अर्बको चुक्ता पुँजीमध्ये १२ अर्ब प्रमोटरहरुले लगानी गरिसकेका थिए । अब ८ अर्ब सर्वसाधारणबाट लगानी जुटाउनका लागि आइपीओ निष्काशन गर्न लागिएको हो । 

यतिबेला इन्फ्रास्ट्रक्चर बैंकको आईपीबारे बजारमा ठूलै चर्चा छ । देशमा ठूला ठूला पूर्वाधार विकास गर्न  भनेर स्थापना भएको बैंकको आइपीओबारे पब्लिकमा पनि ठूलो चासो देखेको छु । यसले बैंकको ब्राण्ड इमेज बनाउन ठूलै सहयोग गरेको छ । 

उदेश्य अनुसार काम त भैरहेका छन् नी ?
इन्फ्रास्ट्रक्चर बैंकको मुल काम विकासका परियोजनामा लगानी गर्नु नै हो । प्रमोटरहरुले लगानी गरिसकेका छन्, अब सर्वसाधारणलाई आइपीओ जारी गरिँदैछ । त्यसको मतलब अब प्रतिफलको कुरा पनि आउँछ । प्रतिफल नै आउँदैन भने त निजी क्षेत्रले लगानी गर्दैन् । सर्वसाधारणले पनि लगानी गरेपछि प्रतिफल खोज्छन् । सरकारलाई पनि उचित प्रतिफल दिनुपर्ने हुन्छ । त्यसका लागि पनि हामीले ध्यान दिनुपर्छ । अर्काे कुरा, विकास भनेको आजको भोली नै हुने होइन् । त्यसका केहि चरणहरु हुन्छन् । इन्फ्रास्ट्रक्चर बैंकलाई लाइसेन्स दिँदा नै दिर्घकालिन विकास परियोजनाहरुमा लगानी गर्नु भनिएको छ । हामीले पाँच वर्ष भन्दा कम अवधीको मुद्धति निक्षेप नै लिन पाउँदैनौं । करेन्ट र सेभिङ अकाउण्टको अवधारणा नै छैन् । 

जब हामीले श्रोत नै पाँच वर्ष भन्दा बढी अवधीको संकलन गर्छाै । हामीले लगानी गरेका परियोजनाहरुले प्रतिफल दिन पनि चार पाँच वर्ष त लगाई हाल्छन् । त्यसपछि २०।३० वर्षसम्म प्रतिफल दिईरहन्छ । त्यसकारण पूर्वाधारमा गरिएको लगानीले बहुआयामिक ढंगबाट देशको विकास गर्छ । हाइड्रोपावर भएन भने बत्ति हुन्न । बत्ति भएन भने उद्योग धन्दा चल्दैनन्, नागरिकको घरै पनि अध्यारो हुन्छ । विमानस्थल बनाउन सकिन्न, सडक बनाउन सकिन्न । हामी आफ्नो उदेश्यबाट दायाँ बायाँ भएका छैनौं । 

लगानी कति गरियो ? पाइलाइनमा कति छन् ? 
आजसम्म जति पनि परियोजनाहरु लगानी माग्दै आएका छन्, हामी सन्तुष्ठ छौं । यो मितिसम्म साढे १० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरिसकेका छौं । त्यसमा आधा दर्जन हाइड्रो पावर छन् । सोलार आयोजना छन् । होटल छन् । सिमेन्ट उद्योग छ । केहि मनोरञ्जन पार्कहरुमा लगानी गर्नेबारे पनि अध्ययन भैरहेको छ । थप करिब चार अर्ब रुपैयाँ लगानी स्वीकृतिको चरणमा पुगेका छन् । 

त्यसपछि पाइपलाइनमा पनि थुप्रै आयोजना छन् । प्रोजेक्ट र उद्योग छनौटका मापदण्ड बनाएर आर्थिक तथा प्राविधिक पक्षहरुको गहन अध्ययन गरिरहेका छौं ।  करिब ३० अर्बका यस्ता परियोजनाहरुको अध्ययन भैरहेको छ । सेवा आरम्भ गरेको भर्खरै १८।२० महिनामै यति काम गरिसकेका छौं । दिर्घकालिन विकासका पूर्वाधारहरुमा लगानी गर्ने भनेर स्थापना भएको बैंकलाई केहि समय पक्कै पनि चाहिन्छ । 

फेरी हामीले गर्ने लगानी भनेको बिशेष हुन्छ । निश्चित क्षेत्र तोकेर लगानी गर्न भनिएको छ । कुनै एउटा क्षेत्रमा गरिएको लगानी बिग्रियो भने अन्य क्षेत्रमा पनि प्रभाव पर्छ । त्यसकारण हामी गहन अध्ययन गरेर मात्रै लगानी गर्छाै । 

बैंकले ऋण लगानी मात्रै गर्ने हो की सेयर लगानी(इक्वीटी) पनि गर्ने हो ? 
हामीलाई ऋण लगानी र सेयर लगानी गर्ने दुबै अधिकार छ । अहिले हामी ऋण लगानीमा केहि जोड दिईरहेका छौं । विस्तारै सेयर लगानीमा पनि जाने छौं । त्यसबारे केहि सोँच पक्कै पनि बनाईरहेका छौं । सहायक कम्पनीहरु खोलेर लगानी गर्दा जोखिम हस्तान्तरण, लगानीको विविधिकरणमा पनि सहयोग हुन्छ । अरु देशमा पनि पूर्वाधार बैंकहरुले ऋण र सेयर लगानी दुबै गरेका हुन्छन् । आजसम्म चाँही ऋण मात्रै दिएका छौं । अब सेयरमा पनि लगानी गर्छाै । 

एउटा परियोजना बनाउँदै गरेको कम्पनीले ऋणका लागि बाणिज्य बैंक वा अन्य संस्थालाई छाडेर नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा जाँदा के बढी सुबिधा वा फाइदा पाउँछ ? निक्षेप राख्ने वा बण्ड किन्नेहरुले पनि के सुबिधा पाउँछन् ?
हामी एसेट्स र लायबिलिटी(सम्पति र दायित्व)को मिलान गर्छाै । पाँच वर्षका लागि निक्षेप लिँदा फिक्स्ड रेट(स्थिर)मा लिन्छौं । आज ८/८.५ प्रतिशत ब्याजदरमा निक्षेप लियौं भने पाँच वर्षमा प्रोजेक्टलाई आजै जोडिदिन्छौं । ऋण लिनेहरुका हकमा पनि त्यहि हुन्छ । ९ प्रतिशत ब्याजदरमा ऋण लियो भने चार पाँच वर्षमा परियोजनाको निर्माण सम्पन्न गर्ने भनेर ऋण लिईएको हुन्छ । तर प्रोजेक्ट सकिनै १०/१२ वर्ष वर्ष लाग्छ । १० वर्षका लागि ऋण लिएका प्रोजेक्टहरुले १४/१५ वर्षसम्म ऋण तिर्नु पर्ने हुन्छ । हामीले त्यस्तो नहोस भनेर हामीले म्याचिङ गरिदिन्छौं । ऋणको ब्याजदर पनि स्थिर हुन्छ ।

श्रोत जुटाउन पनि १० वर्ष अवधीका बण्डहरु जारी गर्छाै । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, सेना, प्रहरी र शसस्त्रको कल्याणकारी कोष, दुर सञ्चार प्राधिकरण, बीमा कम्पनीहरुले खरिद गर्न सक्छन् । अरु बैंकहरुमा मुुद्धति निक्षेपमा पैसा राख्दा बर्षै पिच्चे ब्याजदर घटबढ हुन सक्छ । हामी भने १० वर्ष भन्दा बढी अवधीका लागि स्थिर ब्याजदरमा पैसा उठाउँछौं । त्यसरी १० वर्षका लागि उठाइएको रकमलाई आजकै मितिमा प्रोजेक्टसँग जोडिदिने काम गर्छाै । 

संगठन संरचना, कर्मचारी र सञ्चालन खर्चको अवस्था के छ ?
हाम्रा कुनै शाखा सञ्जाल वा क्षेत्रिय कार्यालय छैनन् । जम्मा ३० जना कर्मचारीबाट बैंक चलाईरहेका छौं । सञ्चालन खर्च अन्त्यन्तै न्युन छ । स्प्रेड दर पनि ३ प्रतिशत छ । अहिले नै धेरै नाफा कमाउने सोँच बनाएका छैनौं । नाफा त अवश्य पनि चाहिन्छ तर पहिले आधार तयार गरौं भन्ने हो । 

लगानीको श्रोत जुटाउन तत्काल के गरिँदैछ ? 
अहिले हामी २० अर्बको निफ्रा बास्केट बनाउँदैछौं । त्यहाँ उर्जा, पर्यटन, होटल, आइसीटी, सडक, एयरपोर्ट लगायतका क्षेत्रमा लगानी गर्ने गरि मोडालिटी बनाउँछौं । नियामकहरुसँग छलफल गरिरहेका छौं । यस्तो बण्ड ल्याउँदैछौं, तपाईहरु किन्न तयार हो नी ? भनेर प्रि मार्केटिङ गरिरहेका छौं । त्यसरी संकलन गरिएको पैसाको बण्डको २० देखि २५ प्रतिशत हिस्सालाई सेयर लगानी(इक्वीटी)मा कन्भर्ट गरिदिने सोँच पनि बनाएका छौं । त्यसो गरियो भने पुँजी बजारबाट पनि पैसा उठाउन सकिन्छ । अहिले वित्तिय विवरणमा धेरै ऋण प्रवाह नगरिएको जस्तो देखिएको छ तर हामीले काम भने धेरै गरिसकेका छौं । 

आजका दिनमा बैंकको लगानी क्षमता कति हो ?
हामीले कोर क्यापिटलको ५० प्रतिशत लगानी गर्ने अनुमति पाएका छौं । आज प्रमोटरको १२ अर्ब रुपैयाँ लगानी छ, त्यस हिसाबले हेर्दा ६ अर्ब लगानी गर्न पाइने अवस्था हो । सबै पैसा एकै ठाउँमा हाल्ने भन्दा पनि बिभिन्न क्षेत्रमा लगानी गरिरहेका छौं । अरु बाणिज्य बैंकहरुसँग मिलेर कन्सोर्टियममा पनि लगानी गरिरहेका छौं । 

निक्षेप कति उठाउनु भयो ?
पाँच वटा बीमा कम्पनीहरुसँग पाँच पाँच करोडले जम्मा २५ करोड रुपैयाँ निक्षेप लिएका छौं । बीमा कम्पनीहरुले दिर्घकालिन जोखिम ग्रहण गर्ने भएकाले लगानी पनि त्यसरी नै गर्नुपर्ने हुन्छ । त्यसकारण त्यहाँबाट निक्षेप संकलन गरेका हौं । 

कुनै प्रोजेक्टमा लगानी गर्नु अघि के के कुरा हेर्नु हुन्छ ?
मैले स्वीकृत गरेको लगानी कहिले प्रवाह गर्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा हुन्छ । परियोजनाहरुले रिपेमेन्टको पनि तालिका तयार पार्छन् र पैसा लैजाने तालिका पनि बनाउँछन् । ति दुईलाई मिलाएर हामीले लगानी गर्ने हो । हामीलाई प्रोजेक्ट पहिचान गर्नै ३।४ महिनासम्म लाग्ने रहेछ । हाम्रो प्राविधिक टिमले सुरुमै परियोजनाको प्राविधिक पक्षबारे विस्तृत अध्ययन गर्छ । प्राविधिक रुपमा ठिक देखियो भने आर्थिक रुपमा ठिक छ की छैन भनेर अर्काे टिमले  पुनः अध्ययन गर्छ । दुबै अध्ययनको एकिकृत रिपोर्ट हेरेपछि बल्ल हामी लगानी गर्ने बाटोमा अघि बढ्छौं । ४/५ वटा बैंकका कन्सोर्टियम खोज्न पनि ५/६ महिना लागिहाल्छ । नेपालमा कर्जा लगानी अनुपात ७०.३० हुने गरेको छ । तीन चार वर्षको निर्माण अवधी हुन्छ । त्यसको विभिन्न चरणमा पैसा आवश्यक पर्छ, त्यसमा पनि तालिका हुन्छन् । हामी गहिरो अध्ययन नगरी लगानी गर्दैनौं ।

अन्य बैंक तथा वित्तिय संस्था, नागरिक लगानी कोष, सञ्चय कोष, एचआइडीसीएल जस्ता संस्थाहरुले पनि तपाईहरुकै जसरी लगानी गरिरहेका हुन्छन्, प्रतिष्पर्धा कसरी गर्ने ? अब्बलता कसरी सावित गर्ने ? 
यहाँ प्रतिष्पर्धाको सवाल नै आउँदैन् । हामी सबैसँग सहकार्य गरेर अघि बढ्छौं । नेपालमा पूर्वाधारको लगानीमा ठूलो ग्याप छ । विश्व बैंक, एसियाली विकास बैंकहरुका रिपोर्टहरुले पनि त्यस्ता तथ्यहरु उजागर गरिरहेका छन् । जीडीपीको १० देखि १२ प्रतिशत लगानी पूर्वाधारमा चाहिन्छ भनेका छन् । भोली हाम्रो नेतृत्वमा कन्सोर्टियममा जाँदा अरु बैंकहरुले प्राविधिक र वित्तिय सम्भाव्यताबारे अध्ययन गर्नै पर्दैन् । हामीले गरेको अध्ययनकै आधारमा लगानी गर्न सकिने वातावरण बन्छ । हामीले निफ्रालाई ‘नोडल फाइनान्सियल इन्स्टिच्युसन’ बनाउन चाहेका हौं । हाम्रो अध्ययन र हामीले छानेका परियोजनाहरुलाई हेरेर ढुक्क साथ लगानी गर्न सकिने वातावरण बनाउँछौं । 

पूर्वाधारमा लगानीका सुरक्षित क्षेत्र कहाँ कहाँ रहेछन् ?
हामीले प्रवाह गर्ने ऋण पूर्णतः परियोजनामा आधारित हुन् । प्रोजेक्ट लोनमा जोखिम हुन्छ नै । अहिले उर्जामा अलि बढि आकर्षण छ । देशमा उर्जाको माग पनि बढिरहेको छ । औद्योगीकरण पनि यसमै जोडिएको छ । विमानस्थल, रेलमार्ग, सडक, केबलकार लगायतका क्षेत्रमा लगानी गर्ने हो । त्यसका लागि स्वदेशी तथा विदेशी वित्तिय संस्थाहरुसँग सहकार्य गरिन्छ । 

पीपीए गरेका उर्जाका परियोजनाहरुमा मात्रै लगानी गर्ने हो भने पनि ३।४ सय अर्ब लगानी गर्नुपर्ने अवस्था छ । प्रदेशहरुमा पीपीपी मोडलमा अस्पतालहरु बनाउन सकिन्छ । राम्रा विश्वविद्यालयहरुमा लगानी गर्न सकिन्छ । स्मार्ट सिटीहरु बनाउन सकिन्छ । आइसीटीमा लगानी गर्न सकिन्छ । अर्थात नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्ने ठूलो सम्भावना छ । 

बैंकको अन्तराष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्ने, श्रोत ल्याउने र वैदेशिक साँझेदारीको सन्दर्भ कसरी अघि बढ्छ ?
निफ्राको ब्राण्डिङ भनेको देशकै ब्राण्डिङ हो । देशमा लगानीको कस्तो वातावरण छ ? लगानीको जोखिम कति छ भन्ने हेर्न देशको रेटिङ गरिनुपर्छ । नेपालले पनि रेटिङको प्रक्रिया अघि बढाएको छ । डलरमा ल्याइने लगानीको जोखिम व्यवस्थापनका लागि हेजिङको कुरा पनि छ । यी काम अघि बढ्दा देशको लगानी वातावरणबारे अन्तराष्ट्रिय छवीमा थप सुधार हुनेछ । निफ्रालाई विश्वास गर्ने अन्तराष्ट्रिय समुदाय पनि बढ्नेछ । 

हामीले ३ देखि ५ वर्ष अवधीका लागि करिब ५ अर्बको निफ्रा बण्ड अन्तराष्ट्रिय बजारमा निष्काशन गर्ने तयारी गरिरहेका छौं । त्यो बण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत भएर कारोबार हुनेछ । ट्रिपल ए रेटिङ पाएको एउटा संस्थाले हाम्रो बण्डलाई ग्यारेण्टी दिन्छ । त्यसलाई क्रेडिट र्याप भनिन्छ जसले लगानीकर्तामा विश्वास जाग्नेछ । लण्डनमा हाम्रो बण्ड कारोबार भएपछि अन्तराष्ट्रिय जगतमा ख्याति र उपस्थिति देखिनेछ । त्यसपछि पाँच अर्ब मात्रै होइन, पचासौं अर्ब लगानी विदेशबाट ल्याउन सकिन्छ । हामीले नेपाल राष्ट्र बैंकबाट अनुमति नै पाईसकेका छौं । 

त्यस बाहेक हामीलाई रिफाइनान्सको सुबिधा पनि दिनुपर्छ भन्ने लाग्छ । नेपालमा निर्माण भैरहेको परियोजनामा जोखिम देखेर विदेशीले पैसा हाल्दैनन् । हामी चाहान्छौं सञ्चालन भैसकेका परियोजनामा लगानी ल्याउन सकिने गरि रिफाइनान्सको सुबिधा पायौं भने त्यसरी ल्याएको पैसाले अर्काे प्रोजेक्ट बनाउन सकिन्छ ।बैंकमा रणनीतिक साँझेदार भित्र्याउनेबारे पछि सोँच बनेको छ । त्यसो भयो भने विदेशी पुँजी र प्रविधि पनि आउँछ । जुन देश विकासका लागि थप फलदायी हुनेछ । 

बैंकका लगानीकर्ताले कति प्रतिफल पाउँछन् ?
हामीले दिर्घकालमा राम्रो प्रतिफल दिन्छौं भनेका छौं । अहिलेका लागि बजारले ८।१० प्रतिशत प्रतिफललाई सहज मानिरहेको छ । त्यस्तो छोटो अवधीका लागि हो । दिर्घकालका लागि राम्रो प्रतिफल आउँछ । उर्जाकै कुरा गर्ने हो भने पनि ५ वर्षमा निर्माण सम्पन्न हुन्छ, ३० वर्षको आम्दानी खाएपछि सरकारले लैजान्छ । १० देखि १२ वर्षमा ऋण तिरेर सकिन्छ । त्यसपछिको अवधीमा भने कम्पनीले मनग्गै आम्दानी गर्छ । हामी अहिले नै यति प्रतिफल दिन्छौ भनेर भन्दैनौं । आगामी आर्थिक वर्षमा क्षमता अनुसार लाभांश दिन्छौं । लगानी गर्नुस, प्रतिफलको चिन्ता नगर्नुस् भन्न पनि चाहान्छौं । आइपीओमा गरेको लगानीले तत्कालै सेयर बेचेर पनि कमाउन सकिन्छ । दिर्घकालिन रुपमा सेयर राख्ने हो भने पनि उचित प्रतिफल त सुनिश्चत भै हाल्छ । त्यसकारण निफ्रामा लगानी गरेर पब्लिकले डराउनु पर्दैन । 

आइपीओमा हालिएको लगानी त १५/२० दिनमै डबल हुन्छ । आज अरु संस्थाबाट ८/१० प्रतिशत प्रतिफल पाउँदा पनि सन्तुष्ठ हुने अनि निफ्राले चाँही आउने वित्तिकै २०/५० प्रतिशत दिन्छ भन्ने आशा पनि गर्नु हुन्न । हामीले पब्लिकलाई झुठो सूचना दिँदैनौं । विवरण पत्रमा सबै कुरा लेखिएकै छ । के के गर्ने भन्ने कुरा स्पष्ट छ । देशकै विकास गर्न भनेर आएका हौं,  लुकाउनु छुपाउनु छैन । हामी आगामी आर्थिक वर्षमा उचित प्रतिफल दिन्छौं । 

आइपीओ कुरिरहेका लगानीकर्तालाई के भन्नु हुन्छ ?
नेपाल सरकारको पनि स्वामित्व रहेको बैंक हो । निजी क्षेत्रका दिग्गज र राम्रा प्रमोटरहरुको लगानी छ । देशको पूर्वाधार विकास गर्न पीपीपी मोडलमा काम गरिरहेका छौं । ढुक्कले आइपीओ भर्नुस, सोचे अनुसार प्रतिफल पाउनु हुन्छ ।