संसद पुनःस्थापनाविना चुनाव गर्न खोजे रक्तपात हुने सुजाताको भविश्यबाणी

Advertisement

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लबमा मंगलबार उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको जिकिर गरिन् । 

सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको सुजाताले बताइन् । असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उनले बताइन् । 

Advertisement

सुजाताले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने समेत बताइन् । उनले भनिन्, ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ । रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’ 

संसद पुनःस्थापना नगरी चुनावमा जान खोजेमा रक्तपात हुने खतरा औंल्याउँदै उनले देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा आपत्ति जनाइन् । सुजाताले भनिन्, ‘चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’ 

संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने खतरा हुने भन्दै उनले थपिन, ‘संसद विना देशलाई अगाडि बढाउन खोजे यस्तो अवस्था आउँछ कल्पना पनि गर्न सक्नुहुन्न ।’ चुनावको विपक्षमा आफूहरु नभएको तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको सुजाताको तर्क छ । सविधान पुनःस्थापना विना चुनाव हुननसक्ने र भएमा पनि रक्तपात हुने सुजाताले दोहोर्याइन् । 

तीस वर्षदेखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गराउँदै उनले भनिन्, ‘३० वर्षदेखि देउवाजी प्रधानमन्त्री बन्दै आउनुभएको छ । फेरि तपाईं नै प्रधानमन्त्री बन्नुहोस् तर संसद पुनःस्थापना गर्नुहोस् ।’ संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भए पनि पुनःस्थापना गर्ने सुजाताको भनाई छ । 

संसद पुनःस्थापना विना काँग्रेस चुनावमा नजाने उनले स्पष्ट पारिन् । सुजाताले भनिन्, ‘आन्दोलनमा गएर भए पनि संसद पुनःस्थापना गर्छौं ।’ आफूहरुले अदालतको फैसला पर्खिरहेको समेत कोइरालाले बताइन् ।

Advertisement

Advertisement