पाँच महिनाको व्यापारः निर्यात जम्मा ५० अर्ब, आयात पाँच खर्ब २५ अर्ब

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा जम्मा ५० अर्ब छ करोड रुपियाँको वस्तु तथा सेवा निर्यात भएको छ । यही अवधिमा पाँच खर्ब २५ अर्ब ५० करोड रुपियाँको मालसामान भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको मुलुकको आर्थिक अवस्थामा आयात र निर्यातको ठूलो अन्तर देखिएको हो । यद्यपि आयातको तथ्यांक गएको आर्थिक बर्षको सोही अवधिको तुलनामा भने केही सुधारात्मक छ । समीक्षा अवधिमा निर्यात पाँच दशमलव एक प्रतिशतले बढेर ५० अर्ब छ करोड रुपियाँ पुगेको हो । अघिल्लो बर्ष सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले बढेको तथ्यांक छ । त्यस्तै, आयात नौ दशमलव छ प्रतिशतले घटेर पाँच खर्ब २५ अर्ब रुपियाँको आयात भएको छ । गत बर्ष यस्तो आयात चार दशमलव दुई प्रतिशतले मात्रै घटेको थियो । आयात निर्यातमा सामान्य सुधार देखिए पनि यसबीचको अन्तर निकै ठूलो हुँदा मुलुकले ठूलो व्यापार घाटा सहनुपरेको छ । 

Advertisement

जसअनुसार कुल व्यापार घाटा १० दशमलव नौ प्रतिशतले घटेर चार खर्ब ७५ अर्ब ४४ करोड रुपियाँ कायम भएको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो घाटा छ दशमलव तीन प्रतिशतले घटेको थियो । उक्त अवधिमा भारतको निर्यात आठ दशमलव छ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ५५ दशमलव दुई प्रतिशतले घटेको छ । चीनले नेपालतर्फका नाकाहरु सुचारु गर्न आनाकानी गर्दै आएको छ । त्यस्तै, भारतबाट हुने आयातमा एक दशमलव एक प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २४ दशमलव चार प्रतिशतले कमी आएको छ । 

Advertisement

Advertisement