हामीलाई फुर्सद छैन, एमसीसी पास गर्ने कि नगर्ने ? टुङ्ग्याईहालौंः उर्जामन्त्री रायमाझी

Advertisement

बुटवल । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले विद्युत खेर जाने अवस्था आएको भन्दै अमेरिकी परियोजना एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयको विवाद टुङ्ग्याईहाल्नुपर्ने बताएका छन् । 

रिपोटर्स क्लब लुम्बिनीले शुक्रबार गरेको कार्यक्रमममा उनले भने, ‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्‍यो, नत्र लागू गर्नुपर्‍यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन, कुर्ने एक सेकेन्ड फुर्सद छैन ।’ एमसीसी पास गर्नुपर्ने रायमाझीको जोड थियो । 

Advertisement

उनले विद्युत् उत्पादन बढ्दै गएको तर निर्यात गर्न ट्रान्समिसन लाइन नभएकाले अब एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने बताए । रायमाझीले आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भन्दै त्यसलाई बेच्न सकिएन भने राज्यलाई ठूलो नोक्सान हुने बताए । 

अन्तरदेशीय प्रसारण लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको मन्त्री रायमाझीको भनाई थियो । बढि भएको बिजुली बेच्न नसकिए दैनिक एक अर्ब रुपियाँबराबरको घाटा लाग्न सक्ने उनले बताए । 

मन्त्री रायमाझीले एमसीसी देशको हितमा नभए दल, नागरिक समाज एक भएर खारेज गर्नुपर्ने भन्दै त्यसलाई खारेज गरेर भारतसँगको अन्तरदेशीय लाइन राष्ट्रिय स्रोतबाट विस्तार गर्न सकिने बताए । उनले भने, ‘एमसीसीलाई बन्धक नबनाऔं । अबको एक वर्षमा उत्पादन हुने थप विद्युत् बेच्ने आधार तयार गरौं ।’

Advertisement

Advertisement