मध्यभोटेकोशीको घुस काण्ड अख्तियार पुग्यो, लहरो तान्दा पहरो खस्ने संभावना

Advertisement

काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत आयोजनाको घुस प्रकरण अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको उक्त कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत संलग्न घुस प्रकरणको अख्तियारले छानबिन सुरु गरेको हो । 

चिनियाँ ठेकेदारसँग कम्पनीका तत्कालिन सीईओ मणि काफ्लेले चिनियाँ ठेकेदार कम्पनीसँग घुस मागेको अडियो बाहिरिएपछि काफ्लेलाई राजीनामा दिन भनिएको थियो । कम्पनीका प्राविधिक कर्मचारीसमेत संलग्न रहेको यस काण्ड ढाकछोप गर्न लामो समयदेखि प्रयास हुँदै आए पनि दबाब बढ्दै गएपछि बल्ल अख्तियारले हात हालेको हो । 

Advertisement

अडियोमाथि छानबि सुरु गरेको अख्तियारले कम्पनीबाट महत्वपूर्ण कागजाज पनि जफत गरेर लगेको छ । अडियोमा काफ्लेले चिनियाँ ठेकेदार कम्पनी हाइड्रो इलेक्ट्रिक ग्वान्सिङ कन्ट्रक्सन ब्युरोका नेपाली प्रतिनिधि गोविन्द पौडेल र परामर्शदाता कम्पनी ट्रयाक्टेबल इन्जिनियरिङ जीएमबीएचका इन्जिनियर दिनेश भण्डारीसँग आर्थिक लेनदेनका विषयमा कुराकानी गरेको जनाइएको छ । 

कुल १०२ मेगावाट क्षमताको यो आयोजनाको निर्माणकार्य गुणस्तरहीन भएको भन्दै पटक पटक समाचार पनि बाहिर आएका छन् । सात बर्षअघि सुरु भएको यो आयोजना यसअघि नै निर्माण सम्पन्न भइसक्नुपर्नेमा बल्ल ६० प्रतिशत सकिएको छ । आयोजनामा नौ अर्ब रुपियाँ खर्च भइसकेको र लागत अझै बढ्ने देखिएको प्राधिकरणका कर्मचारीहरु बताउँछन् । 
 
कम्पनीको एउटा कर्मचारीले ठेकेदारसँग करोडौं रुपियाँ घुस माग्ने आँट त्यत्तिकै नगर्ने भन्दै सम्वद्ध व्यक्तिहरु यसमा धेरैको संलग्नता हुनसक्ने र सोही कारण अख्तियारलाई छानबिन गर्न दिन रोक्ने प्रयास भइरहेको हुनसक्ने अडकल गरिएको छ । यस काण्डको छानबिनले लहरो तान्दा पहरो खस्नसक्ने संभावना देखिन्छ । 

Advertisement

Advertisement