मन्त्री ठगुन्नाको जिकिर– संसद पुनःस्थापना हुँदैन्, सरकार निर्वाचनको तयारीमा जुटिसक्यो

Advertisement

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने दाबी गरेका छन् ।  

बुधबार रिपोर्टर्स क्लबमा ठगुन्नाले भने, ‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ । हामी अहिले निर्वाचनको सम्मुखमा छौं । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको छ । त्यहीअनुसारको तयारी र कार्यक्रमहरु अघि बढाएको छ । निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको छ ।’

Advertisement

उनले सरकार बन्नुअघि र बनेपछिको अवस्थाबारे यसरी सम्झिए–‘निश्चित् रुपमा जब २०७४ सालको निर्वाचनमा हामी तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा चुनावी गठबन्धन, वाम गठबन्धनको आधारमा हामी जनताको बीचमा गएका थियौं । स्थायित्वको लागि मत मागेका थियौं । पाँच वर्षको लागि जनताबाट मत पनि प्राप्त भएको थियो । वाम गठबन्धनको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने म्याण्डेट जनताले दिएका थिए । सरकार बनेपछि जनताको म्याण्डेअनुसार यो सरकारले काम काम गर्दै आएको थियो । विकास र समृद्धिको अभियान अघि बढे । स्वास्थ्य क्षेत्रमा प्रत्येक पालिकास्तरमा स्वास्थ्य–सुविधा बढाउने काम भयो । प्रत्येक पालिका केन्द्रहरुमा कालोपत्रे सडक बनाउने कार्य अहिले जारी छ । चलिराखेको छ । भौतिक पूर्वाधारका थुपै कार्यक्रमहरु खानेपानी, विजुलीलगायत अभियानका कार्यक्रमहरु समावेशीकरण, उपेक्षित, अपांग, असहाय, एकल महिलादेखि वृद्धाहरुको सेवा सुविधाको बारेमा समेत यो सरकारले आफ्ना कार्यक्रमहरु अगाडि बढाउँदै लग्यो ।’

ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तिव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको पनि मन्त्री ठगुन्नाले सुनाए । उनले अघि थपे,‘यत्तिमात्रै होईन, यहाँहरुलाई थाहा छ–लामो समयदेखि हाम्रो देशको जुन भूमि मिचिएको थियो । हामीले औपचारिक रुपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगतमा दाबीसम्म गर्न पाएका थिएनौं । त्यसलाई औपचारिक रुपमै संसदमा प्रवेश गराएर संविधान संशोधन गरेर हामीले आफ्नो मिचिएको भूमि यो सरकारले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रो भूमि समावेश गरेर, हाम्रो नक्सा सार्वजनिक गरेर संविधान संशोधन गरेर हामीले एउटा भारतसँग द्धिपक्षीय छलफलमा मात्रै होईन, अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो भूमिको आधिकारिक दाबी हामीले गर्यौं । त्यसलाई प्राप्त गर्ने प्रक्रिया अघि बढायौं । भारतसँग हामीले प्रष्ट रुपमा प्रधानमन्त्रीको नेतृत्वमा मिचिएको भूमि फिर्ता लिने कार्यक्रम पनि अगाडि बढ्दै जाँदाखेरि सरकारका विरुद्धमा, सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भयो ।’

उनले बलियो सरकार, स्थिर सरकार, प्रगतिशील सरकार आफ्नो सार्वभौमसत्ता रक्षा गर्नको लागि सक्षम हुने उल्लेख गर्दै वर्तमान सरकार नेपालको भौगोलिक अखण्डता रक्षा गर्न पनि सक्षम भएको सुनाए । उनले भने,‘जनताको जनजिविकाको सवालमा पनि निर्वाद रुपमा अगाडि बढाउँदै नेपाललाई एउटा समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउने अवस्था देखेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु यो सरकारलाई कमजोर बनाउनतर्फ लागे । त्यसकै प्रतिक्रियास्वरुप जनताबाट अनुमोदित सरकारको विरुद्धमा, कुनै विवाद वा असन्तुष्टि भएपनि ती कुरा पार्टीभित्र राख्नुपर्नेमा संसदमा अविश्वासको प्रस्ताव दर्ता हुन पुग्यो । झण्डै दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिपक्षसँग मिलेर सरकार असफल गराउने खेल सुरु भएपछि, जनताको जनादेश त्यो नभएकोले र जनताले स्थिर सरकार मात्रै खोजेको हुनाले लोकतन्त्रमा सबैभन्दा ठूलो कुरा जनताको जनादेश लिनु नै ठूलो कुरा भएको हुनाले वर्तमान सरकारले निर्वाचनको घोषणा गर्यो ।’

मन्त्री ठगुन्नाले वर्तमान सरकारले घोषणा गरेको निर्वाचन  संविधानअनुरुप नै रहेको दाबी गरे । उनले भने, ‘समस्या खडा भएपछि  जनताबाट अनुमोदित हुनु ठूलो कुरा हो । जनताबाट विमुख हुनु चाहीँ निरंकुशता हो । अहिले हामी निर्वाचनमा जाँदैछौं । जनताले प्रगति, समृद्धि, राष्ट्रियता र भौगोलिक अखडता, र विकास र समृद्धिको पक्षमा मतदान गर्नेछन् । निर्वाचन पछि हट्दैन् । लोकतन्त्र जनादेशबाट सुदृढ हुन्छ । सरकार निर्वाचनको लागि आवश्यक सम्पूर्ण कुराको व्यवस्थापन गर्न सक्षम छ । आगामी निर्वाचन अत्यन्त पारदर्शी र शान्तिपूर्ण ढंगले सम्पन्न हुन्छ । जनताले निर्वादरुपमा मतदान गर्छन् । निर्वाचनमा गएर फ्रेश म्याण्डेट लिनुपर्छ । निर्वाचनको तयारीको सम्पूर्ण तयारीमा खासगरी कर्मचारीको व्यवस्थापनको सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय पूर्ण तयारीका साथ लागेको छ ।’ 

संसद पूनःस्थापना हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले त्यो सम्भावना नभएको दाबी गरे । ठगुन्नाले थपे– ‘संसदमा सरकार बनाउने विकल्प नभएको हुँदा संविधानअनुसार संसद पूनःस्थापना हुन सक्दैन् । जनताको म्याण्डेट नेकपालाई हो । नेकपाको नेतृत्व ओलीजीले गर्नुभएको छ । उहाँ बहुमतप्राप्त संसदीय दलको नेता हो । नेकपाले अन्यथा निर्णय नगरेकोले संसद पुनःस्थापना हुँदैन् । संवैधानिक हिसाबले पनि निर्वाचनमा जाने कुरा उपयुक्त हो ।’

नेकपामा कसले आधिकारिकता पाउँछ ? भनेर सोधिएको प्रश्नमा नेकपा नफुटेको पनि उनले जिकिर गरे । ठगुन्नाले भने, ‘नेकपा फुटेकै छैन् । नेकपा छँदैछ । दुई वटा भएको भए पो मान्यताप्राप्त कसले पाउँछ ? भन्ने कुरा आउँछ । नेकपाको नेतृत्व सम्माननीय प्रधानमन्त्री ओलीले गर्नुभएको छ । कुनै नेता तथा कार्यकर्ताले पार्टी छोड्छु भन्नु व्यक्तिगत कुरा हो । संस्थागतरुपमा नेकपा एकीकृत नै छैन् । आधिकारिक पनि त्यही कुरा हो ।’

मन्त्री ठगुन्नाले अहिले सरकारको विरुद्धमा सडकमा जानुपर्ने अवस्था नै नभएको जिकिर गरे । उनले भने, ‘जनताले जवाफ खोजिरहेका छन् । अहिले त विकास र समृद्धिको अभियान हो । अहिले राजनीतिक गतिरोध गर्नुको कुनै कारण छैन् । निर्वाचन घोषणा गरियो भनेर त्यसको विरोधमा सडकमा जानु यो भन्दा विडम्बना हो । सडकमा जाने कुरा गलत हो । उनीहरु मूल पार्टीमा फर्कनुपर्यो । हामीले कसैलाई पनि कारबाही गरेका छैनौं, जिम्मेवारी तलमाथि गरिएको होला । तर, कसैलाई हटाएको छैन् । निश्कासन अहिलेसम्म गरिएको छैन् । आँफै कोही फुटेर जान्छन् भने त्यो उनीहरुको कुरा हो । मुठभेड गर्नुपर्ने के को कारणले ?’

वर्तमान सरकारले सिमामा सुरक्षाको राम्रो प्रवन्ध गरेको पनि उनको दाबी छ । ठगुन्नाले भने, ‘सीमा सुरक्षा राम्रो बनाउने सवालमा यही सरकारले सरकारले क्याम्प स्थापना गरेको छ । सीमामा सुरक्षा अवस्था चुस्तदुरुस्त बनाएको छ । सुरक्षा संयन्त्र स्थापना गरिएको छ । विगतमा थिएन भन्ने कुरा सत्यता हो । तर, अहिले सीमामा सुरक्षा व्यवस्था व्यापक बनाईएको छ । मिचिएको भूमि फिर्ता लिन्छौं । हामी त्यसकै लागि प्रयास गरिराखेका छौं । हामी जनतामा जान्छौं । जनताको फैसलालाई स्वीकार गर्न तयार छौं । निर्वाचनको खर्च राज्यले व्यहोर्छ । बीचमै अस्थिरता उत्पन्न भएकोले ताजा जनादेशमा जानुपरेको हो ।’

Advertisement

Advertisement