कृषिमा युवाः बँदेल र कालिजपालनदेखि कृषि पर्यटनसम्म
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप गाउँका किसान बगानमा अलैँची टिप्दै ।

Advertisement

गलकोट । बागलुङमा पछिल्ल्लो समय कृषिप्रति युवाको आकर्षण बढिरहेका अवस्थामा बागलुङ, ताराखोला गाउँपालिका वडा नं ४ ताराको छम्टु गाउँका ३० वर्षीय दिवस खत्री सामाजिक कामसँगै व्यावसायिक बँदेल पालनमा लागेका छन् । बङ्गुुरपालन नौलो व्यवसाय नभए पनि जङ्गली बँदेल पालन नेपालमै नितान्त फरक व्यवसाय भएको खत्रीको जिकिर छ । खत्रीले यसअघि रेन्बो ट्राउट माछा र बाख्रापालन शुरु गरिसकेका छन् । 

यस्तै जैमिनी नगरपालिका –१० राङ्खानीका केदार आचार्यले जैविक कृषि फर्ममार्फत कृषि पर्यटनको क्षेत्र बनाउने लक्ष्यका साथ कृषि कर्मलाई अघि बढाउनुभएको छ । ढोरपाटन नगरपालिका – २ सलामकोटमा पहिलोपटक स्थानीयवासी चूडामणि कंँडेलले व्यावसायिक कालिज पालन थालेका छन् । जङ्गली बँदेलबाट वैज्ञानिक गर्भधारणका माध्यमबाट उत्पादित पाठापाठीको व्यावसायिक पालन शुरु गर्नुभएका खत्री आफ्नो व्यवसाय अत्यन्तै फरक भएको बताउँछन् । समाजिक काममा समेत सक्रिय खत्री १३ वर्षका उमेरदेखि सशस्त्र द्वन्द्वमा होमिनुभएको थियो । शान्ति प्रक्रियापछि गाउँमा फर्कनुभएका खत्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताराखोला गाउँ कमिटी र  तारा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् । 

Advertisement

राजनीति र समाजसेवालाई नै आफ्नो पेशा ठान्ने परीपाटि गलत भएको जनाउँदै उनले नयाँनयाँ व्यवसाय गर्ने र युवालाई रोजगारी दिएर गाउँमा कृषि क्रान्ति ल्याउने अभियानमा आफू लागेको  बताए । “देशमा परिवर्तन ल्याउन सानै उमेरमा जनयुद्धमा होमिएँ, अहिले गाउँमा बँदेल, ट्राउट माछा र बाख्रापालन गर्दै आएको छु”, खत्रीले भने, “समाजसेवासँगै अर्थोपार्जनका लागि नयाँ व्यवसायमा हात हाल्दै आएको छु, केहीलाई रोजगारीसमेत प्रदान गरिरहेको छ ।” उनले बँदेलपालन व्यवसाय  एकल लगानी तथा माछा र बाख्रापालन सामूहिक लगानीमा गर्दै आएका छन् । खत्रीले सञ्चालनमा ल्याएको ताराखोला प्रदिक बँदेल फर्ममा अहिले ४८ बँदेल छन् । 

उनले पोखराबाट आठ महिनाअघि मात्रै रु नौ हजार ५०० प्रति बँदेलका पाठापाठी खरीद गरी बँदेल पालन शुरु गरेका हुन् । बङ्गुभन्दा निकै स्वादिष्ट हुने बँदेलको मासुको मूल्यसमेत उच्च रहेका कारण दुई वर्षदेखिको अध्ययन र अनुसन्धानपछि पोखराबाट ३० बँदेलका पाठापाठी ल्याएर व्यावसायिक बँदेल पालन शुरु गरिएको खत्रीको भनाइ छ । अहिले सात बँदेल मासुका लागि तयार भएको र अग्रिम रुपमै माग भइसकेको छ । बजारमा बङ्गुरको मासु प्रतिकेजी ३५० रहेकामा बँदेलको मासु  रु एक हजारभन्दा बढी मूल्य पर्ने भएकाले बँदेल पालन व्यवसाय शुरु गरिएको उनको भनाइ छ ।

खत्रीकै नेतृत्वमा ताराखोला रेन्बो ट्राउट फर्म तीन वर्षअघिदेखि तथा आठ महिनाअघिदेखि बँदेल  पालन शुरु गरिएको हो । खत्रीसहित चार जनाले सामूहिक बाख्रापालनसमेत गर्दै आएका छन् । सामूहिक बाख्रा फर्ममा ८०  बाख्राा छन् । उनले बँदेलमा रु १५ लाख, माछामा रु २५ लाख र बाख्रापालनमा रु १५ लाख लगानी गरिसकिएको बताए । खत्रीले अहिले सबै व्यवसायमा सात जनालाई रोजगारी दिएका छन् । उनले बँदेल फर्ममा ४८ बँदेल छन् । अब बँदेलका पाठापाठी खरीद गर्न नपर्ने र आफ्नै फर्ममा उत्पादन गर्ने उहाँले जानकारी दिए । 

यस्तै छ वर्ष रोजगारीका लागि खाडी मुलुकमा बिताउनुभएका जैमिनीका आचार्यले कृषि पर्यटनको लक्ष्यसहित जैविक कृषि फर्म सञ्चालनमा ल्याएका छन् । सात वर्षअघि मलेसियाबाट फर्किँदा व्यावसायिक च्याउ र अलैँची खेती गर्ने सोचसँगै बोकेर आएका आचार्यले ९० हजार लागतमा अलैँची र च्याउ खेती शुरु गरेका छन् । उनले अहिले रु १८ लाख  लगानी पुर्याएका छन् । उनी फलफूल तथा जडिबुटीको नर्सरी र गँड्यौला खेतीका लागि थप रु १५ लाख लगानी बढाउने लक्ष्यमा छन् । 

विसं २०७३ देखि आचार्य जैविक कृषि फर्म दर्ता गरी व्यवसायलाई बढाउनुभएका आचार्यको फर्ममा अहिले २० रोपनी जग्गामा अलैँची खेती गरिएको छ । उनले हाल एक रोपनी जग्गामा सुन्तला, अलैँची, एभोकाडो(घिउफल), हलुवाबे तथा किबीका बिरुवा उत्पादनका लागि नर्सरी स्थापना गरेका छन् । उनले गत वर्ष गँड्यौला बेचेरै रु एक लाख ५० हजार कमाएका थिए । अहिले पनि गँड्यौला खेतीबाट उत्पादित मल नर्सरीमा प्रयोग गर्ने र गँड्यौला बिक्री गर्ने लक्ष्य राखिएको आचार्यले जानकारी दिए ।

“व्यवसायमा लाग्नुभन्दा पहिला गहिरो अध्ययन आवश्यक रहेछ, मैले लामो समय अध्ययन तथा अवलोकन भ्रमणपछि नयाँ प्रकारको व्यवसाय शुरु गरेको छु”, आचार्यले भने, “लगानीकै चरणमा छु,, अहिले वार्षिक रु तीन लाख नाफा गर्दै आएको छु, भविष्यमा कृषि पर्यटनको विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको छु ।” पैँतीस वर्षीय आचार्य परम्परागत कृषि त्यागेर आधुनिक र युग सुहाउँदो, फलफूल तथा कृषिको नयाँ व्यवसाय गर्न आवश्यक रहेको बताउँछन् । तीन वर्षअघिदेखि शुरु गरिएको गँड्यौला व्यवसाय आफ्नो क्षेत्रको नौलो व्यवसाय भएकाले अन्य कृषकसमेत अध्ययन अवलोकनका लागि आउने गरेको आचार्यको भनाइ छ ।

अर्को वर्ष १५० हजार अलैँची, २० हजार सुन्तलाका बिरुवा, कलमीका लागि आवश्यक तीनपाते एक हजार किबीका बिरुवा, एक हजार अकबरे खुर्सानी, घिउफल, हलुवाबेद, चुच्चे ओखरलगायत बिरुवा उत्पादन गर्न थाल्नुभएको छ । आचार्यले अलैँची बिक्री गरेर मात्र वर्षमा न्यूनतम रु तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । आचार्यले फर्ममा साग, टमाटर, आलु, अकबरे खुर्सानी, काउली, ब्रोकाउली र सिमी पनि उत्पादन गर्दै आएका छन् । फर्म पर्यटकीयस्थल हाँडीकोट नजीकै रहेका कारण उहाँले कृषि पर्यटनको सम्भावना देख्नुभएको छ । गाउँमै कृषि रिसोर्ट सञ्चालनमा ल्याउने आचार्यको लक्ष्य छ ।

यस्तै सलामकोटक कँंडेलले एक वर्षअघिदेखि कालिज पालन व्यवसाय शुरु गरेका छन् । दुई सय कालिजका चल्ला पोखराबाट ल्याएर पाल्न थाल्नुभएका उहाँले शुरुमा कालिज मरे पनि पछिल्लो समय कालिज पालन व्यवसाय फष्टाउने सम्भावना रहेको बताउनुभयो । उनले पहिलोपटक ३५ कालिज बिक्री गरिसक्नुभएको छ । अहिले आफ्नो कालिज फर्ममा १०० पोथी कालिजले अण्डा दिइरहेको र आगामी महिना झण्डै चारदेखि पाँचसय चल्ला उत्पादन गरी हुर्काउने लक्ष्य राखिएको कंँडेलले जानकारी दिए । “यहाँको हावापानीमा कालिजपालन परीक्षणका लागि थोरै मात्रामा कालिज लिएर शुरु गरेको थिएँ”, कंँडेलले भने, “शुरुमा केही कठिनाइ भए पनि कालिजपालन व्यवसाय सफल हुने देखियो, आफ्नै फर्ममा अण्डा उत्पादन भइरहेका कारण कालिज बढाउन अब समस्या छैन ।” कँंडेलले स्माल हेभन चरा फार्म दर्ता गरी कालिजपालन शुरु गरेका हुन् । 

कंँडेलले दुई रोपनी जग्गा मात्रै व्यवस्थापन गर्न हालसम्म रु १० लाख खर्च गरिसक्नुभएको र अबका दिनमा तीन हजार कालिज पालनका लागि फार्मको विस्तार गरी १० रोपनी क्षेत्रफलमा तारजाली गर्ने काम भइरहेको जानकारी दिए । अहिले प्रतिगोटा भाले कालिजलाई रु तीन हजार ५०० मा बिक्री गरिएको उनको भनाइ छ । रासस

Advertisement

Advertisement