ट्रम्प प्रशासनका निर्णयहरु भकाभक उल्ट्याउँदै बाइडेन

Advertisement

काठमाडौं । राष्ट्रपति पदको कुर्सीमा बसेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघिको ट्रम्प प्रशासनका नीतिहरु उल्ट्याउने निर्णय गरेका छन् । बुधबार मात्रै शपथ खाएका उनले कार्यकारी आदेश जारी गर्दै ट्रम्प प्रशासनका नीतिहरु उल्टाउने र आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका हुन् । 

कार्यभार सम्हालेको केही समयमै कार्यकारी आदेश जारी गरेका उनले ट्वीट गर्दै भनेका छन्, ‘हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन ।’ बाइडेनले कोरोनाभाइरस महामारी रोक्न सङ्घीय सरकारले तीव्ररुपमा काम अघि बढाउने निर्णय गरेका छन्  । 

Advertisement

त्यस्तै, उनले जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धबारे यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अख्तियार गरेका नीति उल्ट्याउने प्रक्रिया सुरु गरेका छन् । बाइडेनका प्राथमिकतामा चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)बाट फिर्ता हुने ट्रम्प प्रशासनको निर्णय रद्द गर्ने , भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्ल्यूचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने, कोरोना रोकथामका लागि सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने, मास्क तथा दूरीको नियम पालना गरिने, आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्ने आदि छन् । 

त्यस्तै, सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने निर्णय पनि बाइडेनले गरेका छन् । विवादास्पद किस्टोन एक्सएल पाइपलाइनको निर्माण रद्द गर्ने, तथाकथित मुस्लिम प्रतिबन्धअन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने, मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द गर्ने जस्ता निर्णय पनि बाइडेनले गरेका छन् । 

Advertisement

Advertisement