भारतले अनुदानमा दिएको कोभिड खोप लगाउन ६२ करोड चाहिने

Advertisement

काठमाडौं । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । स्वास्थ्य मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

ढुवानी, भण्डारण, खोप लगाउने व्यक्तिहरूको तथ्यांक संकलन, लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम र खोप वितरणका लागि उक्त बजेट आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘खोप लगाउन चाहिने सामग्री खरिद, जनशक्ति व्यवस्थापनलगायतका लागि बजेट आवश्यक छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भने ।

Advertisement

१० लाख मात्रा खोपको प्रयोग तथा व्यवस्थापनमा पूरै ६२ करोड नलाग्न सक्ने भए पनि बजेट बाँकी रहे भविष्यमा आउने खोपका लागि खर्च गर्ने सर्तमा मागअनुसारकै निकासा दिन लागिएको छ । पहिलो पटक खोप लगाउने भएकाले के शीर्षकमा कति बजेट आवश्यक पर्ने भन्ने अनुमान गर्न नसकिएको भन्दै अर्थले माग भएअनुसार पूरै रकम दिन लागेको हो । बजेट निकासाका लागि अर्थ मन्त्रालयले बिहीबार सबै प्रक्रिया पूरा गरिसकेको छ । ‘स्वास्थ्य मन्त्रालयका नाममा निकासा हुनेछ, खोप कोषमा जाने छैन,’ अर्थ स्रोतले भन्यो ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement