नागढुंगा–सिस्नेखोला सुरुङ दुई तिरबाट खन्न थालियो

Advertisement

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फ पनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ ।

दुवैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले बताएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।

Advertisement

‘सुरुमा स्थानीयले अवरोध गर्ने चेतावनी दिएका थिए,’ उनले भने, ‘अहिले काठमाडौंतर्फ कुनै अवरोध छैन, काम अघि बढेको छ ।’ उनका अनुसार काठमाडौंतर्फ दुई सातापछि मात्र विस्फोटक पदार्थ प्रयोग गरिनेछ । त्यसअघि करिब ३० मिटर सुरुङ मेसिनबाट खनिने उनको भनाइ छ । धादिङतर्फ भने पुस ६ बाट नै सुरुङ खन्न थालिएको थियो । विस्फोटक पदार्थ भने पुस २३ बाट प्रयोग गर्न थालिएको छ । ‘धादिङतर्फ अहिले चौबिसै घण्टा काम हुने गरेको छ,’ उनले भने, ‘काठमाडौंतर्फ पनि यसरी नै काम गर्ने तयारी हुँदै छ ।’

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement