सेयर कारोबारमा पुँजीगत लाभकर संकलनः गत बर्ष जम्मा ३० करोड, यो बर्ष तीन अर्ब

Advertisement

काठमाडौं । सेयर बजार कारोबारमा लाग्ने पुँजीगत लाभकरमा गुणात्मक वृद्धि भएको छ । गएको आर्थिक बर्षको पहिलो छ महिनामा सेयर कारोबारबाट जम्मा ३० करोड रुपियाँ लाभकर संकलन भएकोमा यो बर्ष तीन अर्ब रुपियाँ संकलन भइसकेको आन्तरिक राजश्व विभागका निर्देशक अर्जुन ढकालले जानकारी दिए । 

उनका अनुसार यो बर्ष कारोबार र मूल्य दुवैमा वृद्धि भएकाले लाभकर पनि निकै बढेको हो । सेयर कारोबारमा लाभ भएको रकममा पाँच प्रतिशत लाभकर तिर्नुपर्ने हुन्छ । गएको बर्ष १२ सयको हाराहारीमा रहेको सेयर बजार परिसुचक नेप्से बढेर २४ सय पार गरिसकेको छ । ढकालले कारोबार मात्रै बढेको भए नौसय प्रतिशतले लाभकर बढ्ने थिएन भन्दै सेयरको मूल्य नै बढेकाले कर बढेको बताए । 

Advertisement

विभागले घरजग्गा र सेयरको पुँजीगत लाभकर एउटै शीर्षकमा संकलन गर्ने गर्दछ । घरजग्गासहित जोड्दा नौ अर्ब पाँच करोड ८० लाख रुपियाँ संकलन भएको छ भने सेयर बिक्रीबापतको लाभकर तीन अर्ब रुपियाँभन्दा बढि रहेको ढकालले बताए । गत बर्ष घरजग्गाको समेत गरी पाँच अर्ब ३६ करोड ६७ लाख रुपियाँ मात्रै लाभकर संकलन भएको थियो । 

पछिल्लो दिनमा अनलाइनमार्फत सेयरको प्राथमिक निष्काशन (आईपीओ)को आवेदनदेखि दोस्रो बजारको कारोबारसम्म अनलाइनमार्फत गर्न सकिने सुविधाले सेयर बजारमा नयाँ लगानीकर्तालाई आकर्षण थपेको छ । पछिल्लो विवरणअनुसार डिम्याट खाता खोल्नेहरुकै संख्या २६ लाख पुगिसकेको छ भने दोस्रो बजारमा नौ अर्ब रुपियाँभन्दा बढिसम्म कारोबार हुन पुगेको छ । त्यस्तै, बजार पुँजीकरण ३२ खर्ब ८७ अर्ब हुन पुगेको छ ।

Advertisement

Advertisement