चिनी सकिन लाग्यो, खरीद गर्न सरकारले अनुमति दिएन, उपभोक्ता अभाव खप्दै

Advertisement

काठमाडौं । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरीद अनुमति दिनमा ढिलाइ भइरहेको बताइएको छ ।

साल्ट ट्रेडिङले दशैंअघि नै ३० हजार टन चिनी खरीदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, अहिलेसम्म साल्टले खरीद अनुमति पाउन सकेको छैन ।

Advertisement

यसअघि चाडपर्वलाई लक्षित गर्दै चिनी खरीद गर्ने क्रममा साल्ट ट्रेडिङले सरकारसँग ५० हजार टन चिनी खरीदका लागि अनुमति मागेकोमा २० हजार टनको मात्र अनुमति पाएको थियो । साल्टसँग यतिबेला १ हजार टन मात्र चिनी मौज्दात रहेको छ । चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले खरीद अनुमति नदिनु दुःखद कुरा भएको साल्ट ट्रेडिङका महाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘मौज्दात पर्याप्त राख्न र बजार मूल्य नियन्त्रण गर्न हामीले दशैंअघि नै खरीद अनुमति माग्दा पनि अहिलेसम्म अनुमति पाउन सकेनौं जसको असर अहिले बजार मूल्यमा परिरहेको छ,’ उनले भने ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement