नेपाल बन्दले यातायात र व्यापार प्रभावित, बैंक, बीमा तथा उद्योगहरु सुचारु
फाइल फोटो

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले गरेको आमहडतालका कारण यातायात र व्यापार ठप्प भएको छ । कोराना र लामो लकडाउनले आक्रान्त भएको औद्योगिक क्षेत्रले भने थप धक्का सहन नसक्ने भएपछि बाध्य भएर हडतालको अवज्ञा गरेको छ । बन्दका वेला पनि मुलुकका प्रमुख औद्योगिक करिडोरहरू विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्जलगायत क्षेत्रमा रहेका उद्योगहरू बिहीबार सञ्चालनमा आए ।  

काठमाडौंमै बैंक, बिमा तथा अन्य कर्पोरेट कार्यालयहरू सञ्चालनमा आएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका एक वरिष्ठ अधिकारीका अनुसार यसपटकको बन्दका कारण विगतमा जस्तो व्यवसाय ठप्प भएन । बन्दले व्यवसायमा प्रभाव पर्दै नपरेको होइन, तर यसपटक भने विगतमा जस्तो व्यवसाय ठप्प नभएको उनको भनाइ छ ।

Advertisement

‘कोरोनाका कारण लगाइएको लकडाउनका कारण छटपटिएको औद्योगिक, व्यावसायिक क्षेत्रले फेरि बन्द थेग्न सक्दैन,’ ती अधिकारीले भने । मुलुकभरका बैंकका शाखाहरू बिहीबार खुलेको नेपाल बैंकर्स संघका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘छिटपुट रूपमा कुनै स्थानमा बन्द भए होलान्, तर अधिकांश स्थानमा खुले,’ उनले भने । यातायातका साधन कम चलेका कारण मानिसहरूको आवतजावतमा समस्या भएकाले ग्राहकहरू भने कम आएको उनको भनाइ थियो । 

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement