मन्त्रीज्यू र श्रम विभागका महानिर्देशक बिचको भलाकुसारी

Advertisement

महानिर्देशकको कार्यकक्षमा विहानको शून्य समयको बैठक भइरहेको हुन्छ । एकजना महिलाले भेट गर्न चाहेको भनी कार्यालय सहयोगीबाट जानकारी प्राप्त हुन्छ । बैठक सकिएपछि पठाउन महानिर्देशकको निर्देशन हुन्छ । तर कार्यालय सहयोगीले जरुरी छ रे चाँडै भेट गर्नु पर्ने छ रे भनेर पुन: कुरा राखेपछि कुनै जरुरी पनि हुन सक्छ भनेर बैठककै समयमा महिलालाई बोलाइन्छ ।

महिलाबाट मन्त्रीज्यूले पठाउनु भएको भन्दै एक निवेदन प्राप्त हुन्छ । निवेदनमा धनगढीको श्रम कार्यालयमा रिक्त ना सु पदमा अस्थायी नियुक्तिको लागि अनुरोध गरेको व्यहोरा हुन्छ ।

Advertisement

महानिर्देशक (म नि) : तपाइँलाई कस्ले भन्यो अस्थायी नियुक्ति पाइन्छ भनेर ! अहिलेको निजामती सेवा ऐनले ना सु पदमा अस्थायी नियुक्ति दिन मिल्दैन भन्ने प्रावधान राखेको छ।

निवेदक: भर्खरै अवकाश पाउनु भएका मेरो आफन्तले मन्त्रीज्यूलाई भनीदिनु भएको र मन्त्रीज्यूले बोलाएर आएकी हुँ ।

म नि : तपाइँले गलत जानकारी पाउनु भएछ । हामी तपाइँलाई नियुक्ति दिन असमर्थ छौं । वेकारमा दुख पाउनु भएछ । (म नि ले निजामती सेवा ऐनको सम्बन्धित दफा पढेर सुनाउँदा पनि निजलाई चित्त बुझ्दैन । त्यहाँ उपस्थित प्रशासन हेर्ने अधिकृत समेतले कुरा बुझाउन खोजे पनि बुझाउन सकिंदैन । कसरी नियुक्ति नहुँदो रहेछ म पनि हेर्छु भन्दै महिला त्यहाँबाट जानुहुन्छ) ।

केही क्षण मै मन्त्रीज्यूले बोलाउनु भएको छ तुरुन्तै आउनु भनेर पी ए बाट खबर आउँछ । म नि अफिस (भैंसेपाटी) बाट सिंहदरबारको लागि हिंड्छन् । बाटोमा जाम भएर ढिलो हुन्छ । पी ए ले बारम्बार ताकेता गर्छन् । त्यही बिचमा पी एसँग बुझ्दा सोही नियुक्तिको विषय हो भन्ने प्रष्ट हुन्छ ।

मन्त्रीज्यूको कार्यकक्षमा पुगेपछि;

मन्त्रीज्यू : मैले एकजना महिलालाई पठाएको थिएँ । तपाइँले नियुक्ति दिन मिल्दैन भन्नु भएछ । यो ठीक भएन ।

म नि : कानुनले नमिल्ने कुरा म कसरी गर्न सक्छु र हजुर । कानुनले स्पस्टसँग ना सु पदमा अस्थायी, करार र ज्यालादारीमा नियुक्ति गर्न मिल्दैन भनेकोछ ।

मन्त्रीज्यू : मलाई कानुन नसिकाउनुहोस् भनेर धेरै पटक भनी सकेको छु । म ४ पटक क्याबिनेट स्तरको मन्त्री भइसकेको मान्छे हुँ । मेरो मन्त्रालयमा म जे भन्छु त्यसैलाई कानुन मानेर काम गर्ने गर्नुस् । प्रशासन महाशाखाको सहसचिवले नियुक्ति गर्न मिल्छ भनेको छ । तपाइँ मिल्दैन भन्नु हुन्छ ।

म नि : मन्त्रीज्यू , त्यसो भए समाधान निस्कियो । मन्त्रालयको प्रशासन महाशाखाको सहसचिवले मिल्छ भन्नुहुन्छ भने उहाँले नियुक्ति पनि दिन सक्नुहुन्छ । उहाँलाई भनेर नियुक्त दिलाउँदा भै गयो ।

मन्त्रीज्यू : उहाँलाई भन्नु भनेर सिकाउने तपाइँ को हो ? तपाइँले जे पनि हुन्न मात्र भन्नु हुन्छ । कारण के हो ? मन्त्रीलाई असहयोग गर्ने ?

म नि : माफ पाऊँ हजुर । मैले हजुरलाई त्यतिवेला मात्र सहयोग गर्न सक्छु जुनवेला हजुरबाट कानुनले मिल्ने कुरा गर्न निर्देशन हुन्छ । कुनै पनि कर्मचारीले कानुनले नमिल्ने कुरा गर्न सक्तैन र म पनि सक्तिन । यदि कसैले मन्त्रीले निर्देशन दिंदैमा कानुनले नमिल्ने कुरा पनि गर्छ भने ऊ सजायको भागी हुन्छ ।

त्यही बिचमा मन्त्रीज्यूले प्रशासन महाशाखाको सहसचिवलाई बोलाउनु हुन्छ र सहसचिव आएपछि:

मन्त्रीज्यू : सहसचिवजी, तपाइँले नियुक्ति दिन मिल्छ भनेपछि मैले धनगढीदेखि ती महिलालाई बोलाउन लगाएँ । महानिर्देशक त मिल्दैन भन्नुहुन्छ ।

सहसचिव (अनकनाउँदै) : कानुनमा त स्पस्ट छैन हजुर । तर धेरैतिर दैनिक ज्यालादारीमा नियुक्ति दिने गरेको पाइन्छ ।

म नि : मन्त्रीज्यू , कानुनले अस्थायी नियुक्ति दिन मिल्दैन भन्ने स्पस्ट गरेको छ । तर विभागभन्दा मन्त्रालय माथिल्लो निकाय हो । मन्त्रालयको सहसचिवले नियुक्ति दिन मिल्छ भन्नुहुन्छ भने उहाँले नै नियुक्ति दिंदा भइहाल्छ । समस्या समाधान भयो हजुर । म अफिस जान्छु ।

मन्त्रीज्यू : कानुनमा भएको प्रावधान पढेर सुनाउनु होस् त ।

म नि ले निजामती सेवा ऐनको दफा ७क ७ख र ७ग पढेर सुनाउँछन् । मन्त्रीज्यू कुरा बुझेको अर्थमा टाउको हल्लाउनुहुन्छ ।

मन्त्रीज्यू (सहसचिवतिर फर्केर हेर्दै) : ल सहसचिवजी, तपाइँले हुन्छ भन्नु भएकोछ नियुक्ति दिएर पठाउनुहोला । महानिर्देशक जानुभए हुन्छ ।

महानिर्देशक जान्छन् । पछि बुझ्दा ती महिलाको नियुक्ति हुन सकेन भन्ने थाहा हुन्छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालले लेखिरहनु भएको संस्मरणात्मक पुस्तकको अंश । प्रस्तुत अंशमा लेखक श्रम विभागको महानिर्देशक हुँदाको अनुभव समेटिएको छ । 

Advertisement

Advertisement