समस्यामा परेका व्यवसायीको ऋण पुनर्संरचना गर्न असारसम्म समय थप

Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समस्यामा परेका व्यवसायीको ऋण पुनर्तालिकीकरण र पुनर्संरचना गर्न समय थप गरेको छ । 

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाका क्रममा आइतबार राष्ट्र बैंकले कोभिडका कारण समस्यामा परेका ऋणीहरुलाई थप राहत दिने जानकारी दिइएको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पर्यटन व्यवसायीबाट आएको गुनासोका आधारमा असार समान्तसम्मका लागि पुनर्संरचनाको म्याद थप भएको बताए । 

Advertisement

यसअघि मौद्रिक नीति जारी गर्ने क्रममा पुससम्म ऋणको पुनर्संरचना गर्नुपर्ने र कुल ब्याजको १० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएकोमा अब पर्यटन व्यवसायीलगायत समस्यामा परेका ऋणीहरुले असारसम्म ऋणको पुनर्संरचना गर्न पाउने र कुल ब्याजको पाँच प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । 

कोभिडको प्रभावका कारण ऋण नतिरी र कर्जाको पुनर्तालिकीकरण पनि नगरी बस्ने व्यवसायीलाई नेपाल राष्ट्र बैंकले थप सुविधा दिने व्यवस्था गरेको हो उनले बताए । नयाँ व्यवस्था अनुसार बैंकहरुले कोरोना माहामारीले ऋण तिर्न नसकेकाहरुको धितो लिलाम र कालोसूचीको सूचना प्रकाशन गर्न नपाउने भएका छन् । कतिपय बैंकले ऋण नतिरेको भन्दै ऋणीहरुलाई कालोसुचीमा राख्न थालेपछि विरोध पनि भइरहेको थियो । 

गभर्नर अधिकारीले आर्थिक क्रियाकलाप सामान्य बन्दै गएको र आर्थिक परिसुचकहरुमा पनि सुधार हुँदै गएको बताएका छन् । उनले सेयर धितो कर्जाको सीमा घटाइने विषयमा कुनै तयारी नगरिएको पनि बताएका छन् । सेयर बजार अस्वाभाविकरुपमा उकालो लागिरहेको बेला सेयर धितो कर्जाको सीमा घटाउने सक्ने अडकल भइरहेको बेला अधिकारीले त्यो संभावना नरहेको बताएका हुन् । उनले लघुवित्तको सेयरमा गरिने लगानीमा पनि कडाइ गर्ने कुरा स्वीकार गरेनन् । 

गभर्नर अधिकारीले मौद्रिक नीतिका प्रावधानले वित्तीय तथा आर्थिक क्षेत्रलाई राम्रै गरेको भन्दै बचाउ पनि गरे । उनले मौद्रिक नीतिका व्यवस्था प्रभावकारी भएकाले यसमा परिवर्तन नगरिएको बताए । अनिवार्य तरलता अनुपात, बैधानिक तरलता अनुपातलाई आवश्यक परे बीचमा पनि पुनरावलोकन गर्न सकिने अधिकारीको भनाई छ । 

राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जा लिने ऋणीको नाम सार्वजनिक गरिने, साना जलविद्युत परियोजनालाई पुनर्कर्जा उपलब्ध गराइने पनि जानकारी दिएको छ । 

Advertisement

Advertisement