स्वदेशी किसानको गोलभेंडालाई उपेक्षा गरेर काठमाडौंमा भारतीय गोलभेडा

Advertisement

काठमाडौं । किसानले प्रतिकिलो करिब १० रुपियाँमा बेचेको गोलभेंडा उपत्यकामा ५० रुपियाँसम्ममा बिक्री भइरहेको छ । खुद्रा व्यापारीका अनुसार भारतीय गोलभेंडा ४० र नेपाली गोलभेंडा ५० रुपियाँमा बिक्री भएको व्यापारी बताउँछन् । उपत्यकामा बारा, चितवन, दाङ, सुनसरी, धादिङ, काभ्रे, ललितपुरलगायत जिल्लाबाट गोलभेंडा आउँछ । आयातित तरकारी मुख्यतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिबाट बिक्री गरिन्छ ।

समितिले उपत्यकाको करिब ७५ प्रतिशत माग पूर्ति गरिरहेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले पनि किसानको मूल्य घट्नुको मुख्य कारण भारतकै गोलभेंडा भएको बताए । ‘स्थानीय उत्पादनसँगै भारतबाट पनि प्रशस्त मात्रामा गोलभेंडा भित्रिएको छ । तुलनात्मक रूपमा नेपालीभन्दा भारतीय केही सस्तो पनि छ,’ श्रेष्ठले भने, ‘भारतीय गोलभेंडा सस्तो हुँदा यहाँका किसानले मूल्य पाएनन् ।’

Advertisement

माघमा कालीमाटी बजारमा ३० लाख ५९ हजार ५ सय ७६ किलो गोलभेंडा भित्रिएको समितिको तथ्यांक छ । यसमध्ये १६ लाख ५० हजार ९ सय ३६ किलो भारतबाटै आयात भएको थियो । फागुन पहिलो साता पनि भारतबाटै उल्लेख्य परिमाणमा गोलभेंडा भित्रिएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement