मेलम्चीको सुरुङमा पानी पठाएर परीक्षण सुरु, मन्त्री आफै पुगे

Advertisement

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकाबासीले प्रतिक्षा गर्दै आएको मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा पानी पठाएर सोमबार परीक्षण सुरु गरिएको छ । 

परीक्षणका लागि पानी पठाउने क्रममा खानेपानी तथा सरसफाईमन्त्री मणि थापा आए पुगेका थिए । त्यस अवसरमा विघटित संसदका सदस्य शेरबहादुर केसीसहित मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु पनि सहभागी भएका थिए । 

Advertisement

आयोजनाको २६ किलोमिटर लामो सुरुङमा मेलम्चीको पानी पठाइएको हो ।   यसरी पठाइएको पानी सुरुङमा भरिन दुई साता लाग्ने आयोजनाले जानकारी दिएको छ । यसअघि यस्तै परीक्षण गर्ने क्रममा अडिट टनेलमा रहेको ढाला फुत्किएर बाढी आउँदा आयोजनाका एक प्राविधिक कर्मचारी बेपत्ता हुनुका साथै चालकको मृत्यु भएको थियो । 

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको हो । यसअघि विश्व बैंकको प्राविधिक टोलीले आयोजनाको गुणस्तर परीक्षणको काम गरेको थियो । 

समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार विगतको जस्तो दुर्घटना नहोस भन्नका लागि यस पटक विशेष सतर्कता अपनाइएको छ । संभावित दुर्घटनालाई दृष्टिगत गर्दै हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ भने काभ्रे र काठमाडौंका अस्पतालहरुलाई पनि तयार रहन भनिएको छ । 

Advertisement

Advertisement