कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई हुँदा कम्पनीहरुप्रति जनताको विश्वास घट्योः सिलवाल

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कोरोना भाइरस (कोभिड १९) बीमाको दाबी भुक्तानीमा सहज नहुँदा बीमा कम्पनीहरुप्रतिको जनताको विश्वाससमेत घटेको बताएका छन् । 

राष्ट्रिय बीमा संस्थानको ५४औं बार्षिकोत्सवमा मंगलबार उनले भने, ‘अहिलको समयमा जल्दो बल्दो समस्याको रुपमा रहेको कोरोना बीमा दाबी भुक्तानी हो जसले सरकारलाई पनि विवादित बनायो । कोरोना बीमाको कारण बीमा कम्पनीप्रति जनताको विश्वास घट्दोक्रममा ल्याएको छ ।’

Advertisement

यद्यपि यसमा कामै नभएको नभई अहिलेसम्म तीन अर्ब ५० करोड रुपियाँ भुक्तानी भइसकेको तर नकारात्मक कुरा बाहिर बढि आएको सिलवालले बताए । आफू आएपछि पनि बीमा समितिले एक अर्ब ५० करोड र नेपाल पुनःबिमा कम्पनीले एक अर्ब भुक्तानी गर्न निर्देशन दिएको जानकारी दिँदै सिलवालले कोरोना दाबी भुक्तानीको लागि योग्य भएर आएका बीमितलाई अल्झाएर राख्न नहुने बताए । 

उनले बीमा संस्थानको अहिलेको अवस्था पहिलको त्यति उत्साहजनक नरहेको बताए । संस्थानले लय नलिनुमा सबै जिम्मेवार रहेको उनले स्वीकार गरे । संस्थानको समस्याका विषयमा बीमा समिति र बीमा संस्थानबीच छलफल भइरहेको भन्दै उनले संस्थानले समितिका समस्या मात्रै लिएर आउनुभन्दा समस्या समाधानको उपायसहित आउन सुझाव दिए । 

अध्यक्ष सिलवालले राष्ट्रिय बीमा कम्पनीबाट जे गल्ती भए पनि आउँदा दिनमा सहकार्य गरेर अगाडि बढ्न सल्लाह दिए । बीमा समिति निमायक निकाय भएता पनि व्यवस्थापनमा मात्रै ध्यान नदिएर बीमा बजारलाई कसरी व्यवस्थित गर्ने ? यसलाई कसरी नियमित गर्ने ? कसरी बीमा व्यवसायलाई पारदर्शी गर्ने ? कसरी नियन्त्रण राख्न सकिन्छ ? भन्ने तरिकाले अगाडी बढ्ने बताए । 

उनले बीमा संस्थानलाई सरकारी निजामती कर्मचारीको बीमा पोलिसिमा मात्रै भर नपर्न र प्रतिस्पर्धी भएर अघि बढ्न सल्लाह दिए । अबको समयमा कसैले कसैको कपि नगरेर आफू स्वस्थ र प्रतिस्पर्धी रुपमा अगाडि आउनुपर्ने भन्दै सिलवालले बीमा संस्थानलाई बीमा समितिले जहाँ जस्तो सहयोग गर्नुपर्ने हो, गर्न तयार रहेको बताए । 

Advertisement

Advertisement