राष्ट्रिय बीमा संस्थान ५४औं वर्षमा प्रवेश, संस्थानको बजार हिस्सा ८.५९ प्रतिशत

Advertisement

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४औं वर्षमा प्रवेश गरेको छ ।बार्षिकोत्सवको अवसरमा मंगलबार बीमा समितिका अध्यक्ष सूर्य सिलवालले प्रतिस्पर्धी बीमा बजारमा अगाडि बढ्न संस्थानलाई आग्रह गरे । 

उनले भने– ‘संस्थानले पारदर्शिता र सुशासनको माध्यमद्घारा सर्वसाधारणको संस्थानप्रतिका विश्वसनीयता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनुस ।’ जीवन बीमा सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पुर्याई बीमाको पहँुच र दायरामा वृद्घिमा ध्यान दिन सिलवालले निर्देशन पनि दिए । 

Advertisement

उनले संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई केन्द्रमा राखी गतिविधि अघि बढाउन आग्रह गर्दै समिति नियामक निकाय भएता पनि नियन्त्रणमा मात्रै विश्वास नगर्ने बताए । सिलवालले भने– ‘समितिले बीमा बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? यसलाई कसरी नियमित गर्न सकिन्छ । यसलाई कसरी पारदर्शी गर्न सकिन्छ र यसलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिस्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गरे । व्यवसायिक क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्दै सुरक्षित व्यवसाय सुनिश्चित गर्न बीमा क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी मुलुकले परिलक्षित गरेको समावेशी आर्थिक विकासमार्फत आर्थिक समृद्घि हासिल गर्न बीमा व्यवसाय ठोस आधारस्तम्भ हुने बताए । 

नेपालको ग्रामीण क्षेत्रमा बीमाको पहुँच अत्यन्त न्यून रहेको सन्दर्भमा संस्थानले बीमाको पहुँच विस्तारमार्फत उद्योग व्यवसायको विकास र विस्तारमा अझ थप योगदान पु¥याउनुपर्ने शिवाकोटीको भनाई छ । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठले विगतका तुलनमा बीमाको पहुँच बृद्घि भएको भएपनि अझै विस्तार गर्नुपर्ने बताए । मुलुकको जेठो बीमा कम्पनीको रुपमा रहेको संस्थानको बजार हिस्सा पनि जेठो नै हुनुपर्नेमा उनको जोड थियो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले राष्ट्रको समुचित आर्थिक बृद्घिका लागि अन्तरिक स्रोत र साधनलाई परिचालन गर्दै वित्तीय क्षेत्रको विकास गर्ने तथा बीमितहरुको जीवनमा आइपर्ने  जोखिमलाइ न्यूनीकरण गरेर सुखी र सम्बृद्घ समाजको परिकल्पनामा आजभन्दा ५३ बर्ष अगाडि सरकारको पूर्ण स्वामित्वमा संस्थानको स्थापना भएको बताए । 

कर्मचारीहरुको सावधिक जीवन बीमा गर्ने सम्झौताका कारणले संस्थानको अवस्था मजबुत बनेर बीमा प्रिमियम ह्वात्तै बढेको कँडेलले बताए । अगामी वर्ष वार्षिकोत्सवकै दिन सार्वजनिक गरिएको आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स)का कारणले सरकारी संस्थान, स्थानीय निकाय, बंैक, सहकारी संस्थाहरुमा यो प्रडक्ट लगेर सामुहिक बीमाको विस्तार गरी बीमा प्रिमियमलाई बढाइने लक्ष्य राखिएको उनले बताए । 

संस्थानका प्रशासक कवि पाठकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरुले संकलित बीमा शुल्क ६६ अर्ब १६ करोडमध्ये संस्थानले पाँच अर्ब ६८ करोड संकलन गरी बीमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा आठ दशमलव ५९ प्रतिशत रहेको जानकारी दिए । 

जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको पाठकले बताए ।सो अवधिमा कुल बीमा लेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थान सात लाख ३५ हजार ८१९ बीमालेखसहित पाचौं स्थानमा रहेको प्रशासक पाठकले बताए । नेपाली बीमा बजारमा आफनो हिस्सा क्रमशः बढाउदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाई थियो ।

सेयर पुँजी, जीवन बीमा व्यवसायबाट प्राप्त बीमाशुल्क र जीवन बीमाकोषको लगानीबाट प्राप्त प्रतिफल आदि संस्थानका प्रमुख वित्तीय स्रोत भएको बताउँदै उनले उपलब्ध वित्तीय स्रोतलाई नियामक निकायबाट प्राप्त नीति, नियम र निर्देशनबमोजिम सुरक्षित र उच्च प्रतिफल प्राप्त हुने गरी लगानीलाई व्यवस्थित गरिएको पाठकले बताए । 

संस्थानले जारी गरेका बीमालेखको आफ्नो धारण क्षमताभन्दा बढी रकमको पुनर्बीमा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीबाट गर्दै आएकोमा देशभित्रै स्थापित नेपाल पुनर्बीमा कम्पनीसँग शतप्रतिशत पुनर्बीमा गर्ने व्यवस्था गरी पुनर्बीमा शुल्कको नाममा रकम विदेशिने कार्यलाई निरुत्साहित गरिएको पाठकको भनाई छ ।

संस्थानको लेखापरीक्षण र साधारणसभा निकै लामो समयदेखि हुन नसकेको भन्दै पाठकले भने– ‘यो नै संस्थानको मुख्य समस्या हो । जीवन बीमामा बीमाङ्कीय मूल्याङ्कन नभई लेखापरीक्षण कार्य सम्पन्न नहुने हुँदा संस्थानको साधारणसभा समेत समयमा सम्पन्न हुन सकेको छैन । विगतका समयमा बीमाङ्कीय मूल्याङ्कन हुन नसक्दा यस्तो अवस्था आउन गएको हो । संस्थानले छ वर्षको बीमाङ्कीय मूल्याङ्कनको कार्य सम्पन्न गरी स्वीकृतिको लागि बीमा समितिमा पठाइएकोमा तीन वर्षको स्वीकृति प्राप्त भएको छ भने अर्को तीन वर्षको समेत स्वीकृति प्राप्त हुने विश्वास लिएका छौं । सो भन्दा पछिल्लो अवधिको बीमाङकीय मूल्याङ्कनको प्रतिवेदन ड्राफ्ट रिपोर्ट बीमाङ्कीबाट प्राप्त गरिसकिएको छ ।’

अघिल्लो अवधिको स्वीकृति प्राप्त हुनासाथ मिलाउनुपर्ने विषयहरु समायोजन गरी स्वीकृतिको लागि समितिमा पठाइने भन्दै उनले थपे– ‘बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन र अघिल्लो वर्षको वित्तीय विवरण स्वीकृत नभई पछिल्लो वर्षको लेखापरीक्षण कार्यलाई अन्तिम रुप दिन नसकिने बाध्यताका कारण संस्थानको लेखापरीक्षण सम्पन्न गर्न कठिनाई भएको व्यवहोरा अनुरोध गर्दै सम्बन्धित निकायबाट सकारात्मक पहलको अपेक्षा गर्दछु । उक्त प्रतिवेदनहरु तथा वित्तीय विवरणहरु समितिबाट स्वीकृति प्राप्त हुनासाथ बाँकीअवधिको लेखा परीक्षण कार्यलाई अन्तिम रुप दिई स्वीकृतिको लागि पठाउने प्रतिबद्घता व्यक्त गर्दछु ।’

लेखापरीक्षणपछि बाँकी अवधिको साधारणसभा सम्पन्न गरिने जानकारी दिंदै पाठकले भने– ‘संस्थानले आन्तरिक लेखापरीक्षणलाई नियमितता दिनुको साथै वित्तीय विवरणहरु त्रैमासिकरुपमा प्रकाशन गर्ने गरेको छ । लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित गराउन एनएफआरएस लागू गर्न लेखापरीक्षकको नियुक्ति गरी कार्य अगाडि बढाइएको छ ।’

संस्थानको नयाँ प्रडक्ट आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) सार्वजनिक गरिएको सो कार्यक्रममा संस्थानमा उत्कृष्ट काम गर्ने अभिकर्ता, कर्मचारी र शाखाहरुलाई पुरस्कृत गरिएको थियो ।

Advertisement

Advertisement